तीज मनाएर घर फर्किँदै गरेकी युवती लुटिइन्, दुईजना पक्राउ

काठमाडौं । काभ्रेको पनौतीस्थित माइतीबाट तीज मनाएर घरतर्फ जाने क्रममा एकजना महिला लुटिएकी छन्।

धुलिखेल नगरपालिका-१० बतासेडाँडास्थित चोकोट गैरीगाँउ जङ्गलमा ३७ वर्षीया अनिता थापालाई हतियार देखाएर लुटपाट गरिएको हो।

पनौतीस्थित माइतीबाट बतासेस्थित घर फर्किने क्रममा उक्त जङ्गलमा कालो मास्क लगाएका दुईजना अपरिचित व्यक्तिले उनलाई लुटपाट गरेका बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उनीहरुले चक्कु देखाई घाँटीमा लगाउने डेढ तोला सुनको सिक्री, तिलहरी र कानका झुम्का २ थान लुटेर फरार भएका थिए। ती लुटेर दुवैजनालाई प्रहरीले लुटपाट गरेको सुनसहित पक्राउ गरेको छ।

प्रहरी चौकी पनौतीको टोलीले मंगलबार दिउँसो साढे ३ बजे सुनसहित काभ्रेको तिमाल गाउँपालिका(२ घर भई हाल पनौती नगरपालिका-४ डेरा गरी बस्ने २७ वर्षीय आकाश दोङ र काभ्रेकै खानीखोला गाउँपालिका-१ घर भई हाल पनौती-६ मा बस्ने २७ वर्षीय श्रीराम लोप्चनलाई पक्राउ गरेको छ।