कुटाइ खाने कहिलेसम्म, डाक्टर कुट्न पाइँदैन भन्दै माइतीघरमा प्रदर्शनरत चिकित्सक र प्रहरीबीच धकेलाधकेल

काठमाडौँ । माइतीघरमा प्रदर्शनरत चिकित्सक, स्वास्थ्यकर्मी र प्रहरीबीच धकेलाधकेल भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको विरोधमा मंगलबार चिकित्सकहरूले माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला उनीहरुबीच धकेलाधकेल भएको हो ।

चिकित्सकहरुले ‘कुटाइ खाने कहिलेसम्म’‚ ‘डाक्टर कुट्न पाइँदैन’‚ ‘स्वास्थ्यकर्मीविरुद्धको हिंसा बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर चिकित्सकहरू प्रदर्शनमा उत्रिएका हुन् । यसअघि पनि हेटौंडालगायतका स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्ब कार्यान्वयन हुनुपर्ने मागसमेत उनीहरूले गरेका छन् । लमजुङ सुन्दरबजार नगरपालिका–७ कि ५७ वर्षीया बिरामी सुकमाया दुराको सोमबार दिउँसो अस्पतालमा मृत्यु भएपछि उनका आफन्त कुटपिटमा उत्रिएका थिए ।

बिरामीका आफन्त नाराबाजीमा उत्रिँदा केहीबेर अस्पताल तनावग्रस्त भएको थियो । प्रहरीले कुटपिट गर्नेको पहिचान नभइसकेको बताए पनि कुटपिटको आरोपमा पोखरा–५ का विनय गुरुङलाई नियन्त्रणमा लिएको छ ।