महानगरबाट गरिबलाई नभइ गरिबी लखेट्नु पर्छ : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरबाट गरिबलाई नभइ गरिबी लखेट्नु पर्ने बताएका छन्। फुटपाथ (सडक)  व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि रहेको भन्दै उनले असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औं वर्ष अघिदेखि यस्तो चलेको आफूहरूले देखेको बताएका हुन्।

‘हो, फुटपाथ हिँड्नकै लागि हो। पैदल यात्री सहज रूपमा हिँडुन् भनेर नै फुटपाथ बनाइएको हो। यसमा कसैको दुईमत छैन होला, मेरो पनि छैन। कुरा परम्परादेखि फुटपाथमा रोजिरोटीका लागि गुजारा व्यापार गरिरहनुभएका मानिसहरूको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो’, सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्।

अहिले परम्परागत रुपमा चल्दै आएको कुरालाइ एक्कासी परिवर्तन गर्न खोज्दा केही खल्बली हुनु स्वभाविक र वैज्ञानिक(Theory of Inertia)  पनि रहेको अध्यक्ष ओलीले उल्लेख गरेका छन्।

‘उपमेयरले भेट्नु भएको भन्ने सुनें। यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ । दुवै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधान निकाल्नुहोस् । समाधानको उपाय के हुन सक्छ, तपाईहरूको विचार पनि राख्नुस् है !, उनले लेखेका छन्।