युक्रेनले क्रिमियाको सैन्य कार्यालयमै आक्रमण गरेर त्यहाँका प्रमुखसहित ३५ जना मारेको दाबी

काठमाडौं । युक्रेनले रूसी सेनाको क्रिमियास्थित कार्यालयमा आक्रमण गरेका त्यहाँका प्रमुखसहित ३५ जना सैनिक कमाण्डरलाई मारेको दाबी गरेको छ।

द न्युयोर्क टाइम्सका अनुसार युक्रेनको स्पेसल अप्रेसन फोर्सले गत शुक्रबार गरिएको उक्त आक्रणममा आक्रमणमा ब्ल्याक सी फ्लिटका प्रमुखसहित ३५ जना मारिएको र १०५ जना घाइते भएको दाबी गरेको छ।

युक्रेनले मारिएका कमाण्डरको नाम खुलाएका छैन। रूसले सन् २०२२ मा ब्ल्याक सी फ्लिटको प्रमुखमा भिक्टोर सोकोलोभलाई नियुक्त गरेको थियो। उनी रूसी सैनिकका उच्च सैन्य अधिकारी हुन्।

रूसी सैनिक कमाण्डरहरूको बैठक बसिरहेका बेला आक्रमण गरिएको र आक्रमणबाट क्रिमियामा रहेको रूसी सेनाको ब्ल्याक सी फ्लिटको मुख्यालय ध्वस्त भएको युक्रेनी सेनाले दाबी गरेको छ।

रूसले उक्त घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन। युक्रेनी सेनाले गरेको दाबीको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

पछिल्लो केही सातामा रूसले क्रिमिया प्रायद्वीपमा आक्रमण तीव्र पारेको छ। युक्रेनी भू-भाग रहेको क्रिमिया सन् २०१४ मा रूसले कब्जा गरेको थियो। अहिले क्रिमियालाई रूसले युक्रेनमाथिको आक्रमणमा संयोजन केन्द्रका रूपमा प्रयोग गरिरहेको छ।

युक्रेनको दाबी सत्य हो भने यसपालि युक्रेनले क्रिमियामा गुप्तचरसँगै अत्याधुनिक हतियारको प्रयोग पनि निकै प्रभावकारी रूपमा गरेको देखिन्छ।

रूसी सेनाको बैठक कहिले र कहाँ बस्दैछ, को-को उपस्थित हुन्छन् भन्ने सूचना संकलन गर्नु र त्यहीअनुसार आक्रमण गर्नु, आक्रमणपछि पनि कति जनाको मृत्यु भयो भनेर शव नै गन्न सक्नु युक्रेनका लागि ठूलो सफलता हो।

शुक्रबारको आक्रमणमा कुन हतियार प्रयोग गरिएका थिए भन्ने युक्रेनले खुलाएको छैन। हालसालै युक्रेनले बेलायत र फ्रान्सले दिएका क्रुज मिसाइल रूसविरूद्धको युद्धमा प्रयोग गर्न थालेको थियो।