असोज २१ गतेदेखि दसैं–तिहार लक्षित सहुलियत पसल सञ्चालन, कहाँ–कहाँ खुल्छन् त सहुलियत पसल ?

काठमाडौं । सरकारले असोज तेस्रो सातादेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ।

दसैं–तिहारलाई लक्षित गरी सहुलियत पसल सञ्चालन गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी दिए।

उनकाअनुसार नियमित अनुगमन बाहेक चाडपर्वलाई लक्षित गरी सहुलियत पसल सञ्चालन अवधिभर थप अनुगमन गरिनेछ।

उनकाअनुसार असोज २१ देखि सुरू भएको सहुलियत पसल मंसिर ३ गते (छठपर्व) सम्म चल्नेछ।

मन्त्रालयअन्तर्गत रहेका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले सहुलियत पसल सञ्चालन गर्नेछन्।

अत्यावश्यक खाद्य वस्तुहरूको बजार मूल्य नियन्त्रण र गुणस्तर कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलव्ध गराउन सरकारले हरेक वर्ष सहुलियत पसल सञ्चालन गर्दै आएको छ।

सहुलियत पसल सञ्चालन गर्न खाद्य, व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार र साल्ट ट्रेडिङलाई एक करोड रूपैयाँ बजेट छुट्याइएको छ।

कहाँ–कहाँ खुल्छन् सहुलियत पसल ?
मन्त्रालयका प्रवक्ता ठाकुरकाअनुसार काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली, रामशाहपथ, ललितपुरको नख्खु र भक्तपुरको सूर्य विनायकको बिक्री केन्द्रमा सञ्चालन हुनेछ।

दुग्ध विकास संस्थानका एकीकृत पसललगायत लैनचौर, न्यूरोड र खुमलटारमा दुग्धजन्य पदार्थ बिक्री हुनेछन्।

त्यस्तै, साल्ट ट्रेडिङको काठमाडौंमा भक्तपुर, बनेपा, कौशलटार, कोटेश्वर, पाटन, सिफल, कालिमाटी र सतुंगल गरी ८ वटा केन्द्रमार्फत बिक्री हुनेछ।

त्यस्तै, उपत्यकाबाहिर धनगढी, नारायणटार सहित साल्ट ट्रेडिङका डिपो कार्यालयबाट बिक्री गरिनेछ।

खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेलधुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा सहुलियत पसल सञ्चालन गर्नेछ।

यसको साथै निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलरको माध्यमबाट तोकिएबमोजिम बिक्री वितरण गरिने मन्त्रालयले जनाएको छ।

दुग्ध विकास संस्थानले विराटनगर, जनकपुर, ढल्केवर, हेटौंडा, कोहलपुर, नेपालगञ्ज, अत्तरिया, धनगढी, बुटवललगायत ११ स्थानबाट सहुलियत पसल सञ्चालन गर्नेछ।

साथै, एकीकृत घुम्ती सेवा पसल पनि सञ्चालन हुने मन्त्रालयले जनाएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट सञ्चान हुने सहुलियत पसलमा चामल, दाल, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्टमासको तेल र चिउरामा प्रतिकिलो ७ रुपैयाँ छुट पाइनेछ।

त्यस्तै, कर्णालीको सिमी, गेडागुडी, फापरको दाना, चिनो, कागुनो र उवामा प्रतिकिलो १० रुपैयाँ छुटमा पाइनेछ।
जिउँदो खसी, बोका र च्यांग्रामा पनि १० रूपैयाँ छुट पाइनेछ।

साल्ट ट्रेडिङबाट सञ्चालन हुने सहुलियत पसलमा मूल्यमा नुन प्रति प्याकेट दुई रूपैयाँ, तेल प्रतिलिटर र चिउरा प्रतिकेजीमा ७ रूपैयाँ छुट पाइनेछ।

त्यस्तै, चिनी प्रतिकिलो ९७ रूपैयाँमा बिक्री भइरहेको मन्त्रालयले जनाएको छ।

दुग्ध विकास संस्थानबाट सञ्चालन हुने सहुलियत पसलमा घ्यू प्रतिकेजी २०, पनिर दुई सय ग्राममा २० र पनिर पाँच सय ग्राममा ५० रूपैयाँ छुट पाइनेछ।