आखिर के भएको थियो त मणिपाल अस्पतालमा ?

काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालमा हिजो सोमबार दिउँसो १ बजेदेखिको तनाव राती मात्र साम्य भएको थियो

अस्पतालमा आइतबार बिहान उपचार गर्न पुगेकी लमजुङ सुन्दरबजार नगरपालिका–७ की ५७ वर्षीया सुकमाया दुराको सोमबार दिउँसो आइसियुमा मृत्यु भएको थियो। अस्पतालका अनुसार मिर्गौला फेल भएकी दुराको मुटुमा पनि समस्या थियो। उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

दुराका आफन्तका अनुसार मृतक दिउँसोसम्म ठीकै अवस्थामा थिइन्। उनको मृत्यु हुनुअघि कुरूवा परिवर्तन हुन लागेका थिए। दुरालाई कुर्न अस्पताल बसेका व्यक्तिले अर्को व्यक्तिलाई बोलाएका थिए। त्यही बेला उनको मृत्यु भयो।

अस्पतालका चिकित्सकले दुराको मृत्यु भएको जानकारी आफन्तलाई दिए।

दुराको मृत्यु भएको जानकारी पाएपछि उनका आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाए। मृतकका आफन्तका तर्फबाट आन्दोलन गर्न पुगेका पशुपति बगालेका अनुसार सुरूआतमा आफन्तले अस्पताल प्रशासन र अस्पतालमा खटिएका प्रहरीलाई घटनाको छानबिन गर्न माग राखे।

‘डाक्टरले लापारबाही गरेको आशंका भयो। आशंका भएपछि त हामीले छानबिन गर्न माग गर्न पाउँछौं नि,’ उनले भने, ‘छानबिन गर्न माग राख्दा सुनुवाइ भएन। उल्टै बिरामी हेर्न बसेका व्यक्तिलाई थुनेर राखियो।’

छानबिनको माग गर्दा डाक्टरले बिरामीका कुरूवालाई हप्काएको उनले आरोप लगाए।

अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीका अनुसार बिरामीको अवस्था नाजुक भइसकेको थियो। आकस्मिक कक्षबाट बिरामी दुरालाई आइसियुमा लगेर भेन्टिलेटर लगाएर राखिएको थियो। उपचार गर्दागर्दै उनको मृत्यु भएको थियो।

बिरामीको मृत्यु भएको जानकारी दिएपछि उनका आफन्तले डाक्टर अनिल शाहमाथि हातपात गरेको ती स्वास्थ्यकर्मीले बताए। डाक्टरमाथि हातपात भएपछि अस्पतालभित्रै रहेको क्याफे तर्फबाट डाक्टरको टोलीले डाक्टरमाथि भएको आक्रमणको विरोध जनाए।

डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले अस्पतालकै एउटा कोठामा मृतक दुराका आफन्तलाई लगेर राखे। उनको मृत्युको खबर थाहा पाएर आउने आफन्तहरू अस्पताल बाहिर आइपुगेका थिए। डाक्टरको टोलीले दुराका कुरूवालाई थुनेर राखेको हल्ला चलाएर उनीहरू पनि आक्रमणमा उत्रिन थालेको ती स्वास्थ्यकर्मीले बताए।

‘डाक्टरमाथि हातपात गरेका व्यक्तिलाई डाक्टरले नै थुनेर राखेको, कुटपिट गरेको जस्ता हल्ला चलाएर अस्पतालभित्र तोडफोड गरे,’भने, ‘दिनभर अस्पतालमा तनाव भयो। स्थिति नियन्त्रणमा लिन प्रहरीलाई पनि गाह्रो भयो।’

बिरामीका तर्फबाट आन्दोलन गर्न पुगेका बगालेले पनि डाक्टरले नै कुरूवालाई थुनेर राखेको आरोप लगाए।

‘बिरामीको अकस्मात मृत्यु भएको छ। कुर्न बसेका व्यक्तिलाई ५० जना डाक्टरले थुनेर राखेको छ,’उनले भने, ‘तनावमा ६-७ घन्टा थुनिनुपर्दा के भयो होला।’

अस्पतालका डाक्टरले पनि कैंची, पानीका बोतल, सलाइन पानीका स्ट्यान्डमा राखिने डन्डी लगायतले आक्रमण गरेको उनले आरोप लगाए।

अस्पतालका चिकित्सकले भने कुनै पनि आक्रमण नगरेको त्यहाँ कार्यरत स्वास्थ्यकर्मीहरूको भनाइ छ। स्वास्थ्यकर्मीहरूले डाक्टरमाथि आक्रमण गर्न पाइँदैन भनेर नारा लगाएको एक स्वास्थ्यकर्मीले बताए।

बिरामीका आफन्तले पनि मान्छे मार्न पाइँदैन भन्दै नाराबाजी गरेका थिए। अस्पतालमा अध्ययन गर्न आएका इन्टर्न डाक्टरको टोलीले आक्रमण प्रयास गरेको बगालेको आरोप छ।

अस्पतालमा दिनभर तनावग्रस्त हुँदा पहिलो तला र दोस्रो तलाका सिसाहरू फुटेका छन्। ठूलो संख्यामा प्रहरी तैनाथ गरेकाले मानवीय क्षती भने नभएको अस्पताल प्रशासनले जनाएको छ। अस्पताल प्रशासन र मृतकका प्रतिनिधिबीच छलफल भए पनि कुनै टुंगो लागेको छैन। मृतकका आफन्त र डाक्टरका टोलीले आन्दोलन जारी राख्ने उद्घोष गरेका छन्।

डाक्टरमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने माग राख्दै डाक्टरहरूले मंगलबारदेखि अस्पतालको आकस्मिक, आइसियु, ओपिडी र वार्डबाहेक अरू काम नगर्ने घोषणा गरेका छन्। मृतकका आफन्तले दुराको मृत्युको विषयमा छानबिन गर्न माग राख्दै अस्पताल केन्द्रित आन्दोलन जारी राख्ने बताएका छन्।

अस्पतालमा डाक्टरमाथि आक्रमण आरोपमा प्रहरीले ३४ वर्षीय विनय गुरूङलाई हिरासतमा लिएका छन्। डाक्टरमाथि भएको आक्रमणको छानबिन गरी कारबाही गरिने कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले बताए।