अभिनेत्री रेखा थापा आमा बन्दै

काठमाडौं । अभिनेत्री रेखा थापा आमा बन्ने भएकी छन् । करिब डेढ वर्षअघि बलराम शाहीसँग लगनगाँठो कसेकी थापा ४० वर्ष काटेपछि आमा बन्न लागेकी हुन् ।

निकटस्थ श्रोतका अनुसार रेखा चार महिनाको गर्भवती छिन् । रेखाको यही फागुनमा डेलिभरी डेट रहेको स्रोतले जानकारी दियो । चार महिनाको गर्भवती भए तापनि रेखा लगातार आफ्नो ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘उपहार’ को छांयाकनमा व्यस्त छिन् । बेबी बम्प लिएरै उनी एक्सन सिनहरु दिईरहेकी छन् । स्रोतका अनुसार अबको केही दिनमा उनको भागको छांयाकन सकिनेछ । सो पश्चात उनी रेस्टमा रहनेछिन् ।

रेखाले मंगलबार श्रीमान शाहीसँग एक तस्विर राख्दै आफ्नो सामाजिक सञ्जालमा एक स्टाटस लेखेकी छन् । स्टाटसमा लेखिएको छ, ‘भविष्य पनि गज्जबको उपहार हो । जो नआउँदै हामीलाई किस्ता किस्तामा खुशी पठाइदिन्छ ।’

उक्त स्टाटस पोस्ट गरेपछि धेरैलाई कौतुहल पनि भएको थियो ।