एमालेको बाग्मती अधिवेशन: सहमतिको प्रयास असफल भएपछि निर्वाचनबाट नेतृत्व छानिँदै, २ बजेसम्म उम्मेदवारी मनोनयन

काठमाडौं । सहमतिबाट नेतृत्व चयनको प्रयास तत्काल सफल नभएपछि नेकपा एमाले बाग्मती प्रदेश कमिटीले मतदानबाट नेतृत्व चयन गर्ने प्रक्रिया थालेको छ । निर्वाचन कमिटीले बुधवार दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन गर्नेगरी निर्वाचन कार्यतालिका प्रकाशित गरेको हो ।

बुधवार मध्याह्न १२ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्न कार्यतालिका सार्वजनिक गरिएको छ । भृकुटीमण्डपमा उद्‌घाटन र प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र भएको अधिवेशनको मतदान भने ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा गर्ने तयारी छ ।

अहिलेसम्म अहिलेका अध्यक्ष केशव पाण्डे तथा कृष्णप्रसाद दाहालबीच प्रतिस्पर्धा हुने संकेत देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा नेतृत्व चयन गर्न गरेको आग्रह गरे पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

निर्वाचन कार्यक्रम अघि बढिरहँदा सहमतिको प्रयास पनि जारी रहेको एमालेले जनाएको छ । सहमतिका लागि पहल भइरहेको नेताहरू बताएका छन् । ‘निर्वाचन कार्यक्रम प्रकाशित भए पनि सहमतिका लागि प्रयास जारी छ, उम्मेदवारी दर्ता पनि पनि सहमतिको सम्भावनाका कायम रहन्छ’ एमाले बागमती प्रदेशका एक नेताले  भने ।

यसअघि लुम्बिनी प्रदेशको अधिवेशन पनि मतदान प्रक्रियामा गएको हो ।