एमाले बागमती अधिवेशन : नयाँ नेतृत्व चयनका लागि दिउँसो एक बजेबाट मतदान सुरु हुने

काठमाडौं । एमाले प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ।

निर्वाचन तालिकाअनुसार आज बिहान ८ बजे सुरु हुने भनिएको मतदान तयारी पूरा गर्न समय लाग्ने भएकाले आज दिउँसो सारिएको हो। जसअनुसार मतदान दिउँसो एक बजेबाट सुरु हुनेछ।

एमाले मुख्यालय, च्यासलमा हुने मतदान विद्युतीय मेसिनबाट हुनेछ, जसका लागि ४० वटा मेसिन राखिएको छ।

‍अध्यक्ष पदमा निवर्तमान अध्यक्ष केशवराज पाण्डे, कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य ताराकुमार श्रेष्ठले जानकारी दिए।

यसैगरी, उपाध्यक्षमा सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

यस्तै, सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र राकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा र रमेश महर्जनले उम्मेदवारी दिएका हुन्।

असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट बागमती प्रदेश कमिटीको उद्घाटन भएको थियो।

कर्णाली प्रदेशमा बुधबारदेखि अधिवेशन सुरु भएको छ। यसअघि एमालेको लुम्बिनी प्रदेश कमिटीको अधिवेशन भइसकेको छ।