बजार कब्जा गरेका सीमित व्यापारीले कृत्रिम अभाव सिर्जना गरेर मूल्यमा एकाधिकार लादिरहेका छन् : रास्वपा

काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टीले चाडपर्वको मुखमा सीमित व्यापारीले बजार कब्जा गरेर कृत्रिम अभाव सिर्जना गराएको निष्कर्ष निकालेको छ। बुधबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको हो।

‘दशैं, तिहार, नेपाल संवत्, छठ जस्ता ठूला पर्व नजिकिँदा बजार थप अनियन्त्रित बन्दै छ। महङ्गीको भार निरन्तर बढिरहेको छ। बजार कब्जा गरेका सीमित व्यापारीले कृत्रिम अभाव सिर्जना गरेर मूल्यमा एकाधिकार लादिरहेका छन्,’ रास्वपाले आफ्नो निर्णयमा भनेको छ।

तिनै व्यापारीकै आडमा कालाबजारी फ्स्टाएको पनि रास्वपाले निष्कर्ष निकालेको छ। उसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘उनीहरुकै योजनामा कालोबजारी फस्टाउँदा र पसैलेपिच्छे मूल्य फरक हुँदा उपभोक्ता पाइला–पाइलामा ठगिएका छन्।’

यस्तो चरम अवस्थामा पनि तीन तहका सरकारले प्रभावकारी काम गर्न नसकेको उसको आरोप छ। साथै, रास्वापले त्यस्ता व्यापारीहरुलाई कानुनत: कडा कारबाही गर्न पनि माग गरेको छ।

‘यो बैठकले बजारमा व्याप्त मनपरी नियन्त्रण गर्न, कृत्रिम अभाव सिर्जना गर्नेलाई कानुन मातहत ल्याउन र उपभोक्ता अधिकार सुनिश्चित गर्न तीनै तहका सरकारसँग जोडदार माग गर्दछ,’ बिहीबार जारी गरेको निर्णय सम्बन्धीको विज्ञप्तिमा उल्लेख छ।