जलाउन लागेको युवतीको शव सहित तीन जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । सर्लाहीमा जलाउन तयारी अवस्थामा रहेको एक विवाहित युवतीको शव प्रहरीले नियन्त्रणमा लिएको छ।

रामनगर गाउँपालिका-१ की २२ वर्षीय मनिषा शाहको शव प्रहरीले नियन्त्रणमा लिएको हो।

घटना शंकास्पद भएको भन्दै प्रहरीलाई गोप्य सुचना प्राप्त भएपछि बुधबार साँझ घाटमै पुगेर शव नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारूले जानकारी दिए।

‘परिवारले आत्महत्या गरेको भनेपनि कानुनी प्रक्रिया पुरा नगरी शव जलाउन लागेको सुचना प्राप्त भएपछि नियन्त्रणमा लिएका हौं,’ डिएसपी पंजियार थारूले भने, ‘माइतीपक्षले भने हत्या भएको दावी गरेका छन्।’

पोस्टमार्टमका लागि युवतीको शव प्रादेशिक अस्पतालमा मलंगवा लगिएको छ। साथै अनुसन्धानका लागि उनका श्रीमान सुनिल शाह, ससुरा रामेश्वर शाह र देवर रामबहादुरलाई नियन्त्रणमा लिएको डिएसपी पंजियार थारूले बताए।