घरायसी विवाद हुँदा वृद्ध बाबुआमा र भाइमाथि चिरपट प्रहार

काठमाडौं । मकवानपुरको हेटौंडामा एक जनाले आफ्नै बाबुआमा र भाइमाथि चिरपट प्रहार गरेर घाइते बनाएका छन् ।

बुधबार दिउँसो हेटौंडा-३ भुलन टोल बस्ने ५० वर्षीय बद्रीनाथ मैनालीले घरायसी विवादमा आफ्नै बाबुआमा र भाइमाथि चिरपट प्रहार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार बद्रीनाथको चिरपट प्रहारबाट उनका बाबु ७३ वर्षीय रामजी मैनाली, आमा ६५ वर्षीय माया मैनाली र भाइ ४० वर्षीय केदार मैनाली घाइते भएका छन् ।

घाइते तीनै जनाको उद्धार गरी हेटौंडा अस्पताल उपचारको लागि पठाइएकोमा मायालाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको डिएसपी भण्डारीले बताए ।

चिरपट प्रहार गर्ने बद्रीनाथलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।