कोशीमा एमालेको नयाँ रणनीति : केन्द्रीय गठबन्धन भत्काएर केदार कार्कीलाई मुख्यमन्त्री बनाउने तयारी

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले २० असोजभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता रहेको छ । सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यतामा रहेका कार्कीका सामुन्नेमा आवश्यक बहुमत सांसद संख्या भने देखिएको छैन ।

एमालेसँग ४० सांसद रहेका छन् तर बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । यसबीचमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि एमालेलाई साथ दिने संकेत गरेको छैन । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नै सरकारलाई समर्थन नरहेको बताइसकेका छन् । त्यसले गर्दा राप्रपाका ६ जना सांसदमा पनि आजका दिनमा एमालेभन्दा फरक कित्तामा रहेका छन् । जसले गर्दा एमालेबाट मुख्यमन्त्री भएका कार्कीका लागि कम्तीमा पनि ८ जना सांसद आवश्यक पर्छ ।

एमालेकै उपसभामुख रहेको र सभामुख नभएका कारण प्रदेशसभा सञ्चालन उपसभामुखले गर्नुपर्ने हुन्छ । त्यसो हुँदा सभाध्यक्ष सिर्जना दनुवारले मतदान गर्न पाउने छैनन् । त्यस्तो अवस्थामा एमालेसँग एक सीट घटेर ३९ मात्रै हुनेछ । त्यसैले, एमालेलाई आवश्यक बहुमत पुर्‍याउन ८ जना सांसद चाहिन्छ । त्यही संख्या पुर्‍याउन नसक्ने बुझेपछि एमाले नयाँ रणनीतिमा लागेको छ ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा बनेको सरकारले विश्वासको मत नपाएपछि उपधारा ५ मा झर्नेछ । त्यही उपधारा ५ मा एमालेले आफ्नो रणनीतिक चाल अपनाउन खोजेको छ । एमाले स्रोतका अनुसार त्यसका लागि एमाले अहिले कांग्रेससँग निरन्तर संवादमा रहेको छ । पहिलो प्रयास कांग्रेस र एमाले मिलेर सरकार बनाउन खोज्नेमा रहेको छ ।

एमाले स्रोतका अनुसार त्यसका लागि एमाले नेताहरुले कांग्रेसका नेतासँग अनौपचारिक संवाद गरिरहेका छन् तर कांग्रेसबाट एमालेले ग्रिन सिग्नल भने पाएको छैन । एमालेले उक्त प्रयासमा आस पनि कमै गरेको छ । कांग्रेसलाई इन्गेज गर्ने उक्त रणनीतिसँगै कांग्रेसभित्रै एमालेले अर्को खेल खेल्न खोजेको छ ।

एमाले अध्यक्ष केपी ओलीनिकट स्रोतको दाबीमा उपधारा ५ अनुसार बन्ने सरकारमा एमालेले कांग्रेसकै उम्मेदवारलाई समर्थन गर्न खोजेको छ । ती नेताका अनुसार कांग्रेसको संस्थापनइतर समूहका नेता केदार कार्कीलाई अगाडि सार्न खोजेको छ । शेखर कोइराला र महामन्त्री गगन थापा समूहका सांसद कार्कीलाई उम्मेदवार बनाउँदा राप्रपाले पनि समर्थन गर्ने संभावना रहेको छ । त्यसैले, एमालेले कार्कीलाई समर्थन गर्नेगरी रणनीति बनाएको छ ।

प्रदेशसभामा कांग्रेसका २९ सांसद रहेका छन् । ती २९ मध्ये कोइराला र देउवा समूहका सांसद १०–१० जना रहेका छन् । प्रदेशसभामा कृष्ण सिटौला समूहका सांसद ९ जना रहेका छन् । अहिले देउवा र सिटौलाको समूह मिलेको अवस्थामा रहेका छन् । उपधारा ५ मा बन्ने सरकारका लागि कार्की उम्मेदवार भएमा कांग्रेसभित्र विवाद हुनसक्ने र अन्य सांसदहरुले मतदान नगरेको अवस्थामा पनि एमाले र राप्रपाको मतले विश्वासको मत पाउने स्थिति बनाउने एमालेको रणनीति रहेको छ ।

कार्कीलाई कांग्रेसको इतर समूहका सबै सांसदले साथ दिए एमाले मात्रै मिले पनि सरकार बन्न सक्छ । अहिले एमालेले त्यही प्रयास गरिरहेको ओलीनिकट स्रोतको दाबी रहेको छ । त्यहीकारण, कांग्रेसभित्र पनि पहिला दुईपटक मुख्यमन्त्री भएका उद्धव थापालाई उम्मेदवार बनाउन नहुने इतरसमूहका नेताहरुको लविङ रहेको छ । दुईपटकसम्म संविधान उल्लघंन गर्ने थापालाई अगाडि सार्न नहुने इतर समूहको तर्क रहेको छ । इतर समूहको उक्त तर्क कार्कीलाई अगाडि सार्ने रणनीतिसँग जोडिएको छ ।

कार्कीलाई अगाडि सार्न थापा तयार भएको अवस्थामा भने अहिलेको केन्द्रीय गठबन्धन नै कायम रहनसक्ने अवस्था पनि आउन सक्छ । थापाको विकल्पमा कार्की अगाडि सारिए राप्रपा सत्ता गठबन्धनमा जोडिन सक्ने अनुमान पनि भइरहेको छ । तर, कांग्रेसमा इतर समूहका नेता कार्कीलाई अगाडि सार्ने अवस्था नभएमा चाहिँ कार्की एमालेसँग मिलेर उम्मेदवार हुन सक्ने पनि बताइएको छ । कार्कीले त्यसैअनुसार शेखर कोइरालासँग छलफल पनि गरिसकेको स्रोतको दाबी छ ।

एमालेले कोशी प्रदेशबाट एमाले र कोइराला समूहको सहकार्यको सुरुवात गर्न खोजेको छ । एमाले स्रोतले भन्यो, ‘हाम्रो सहकार्यको सुरुवात कोशीबाट हुन्छ , एमाले जसरी पनि देउवालाई दबाबमा राख्न चाहन्छ । त्यसमा कार्कीलागयतका सांसद तयार नै देखिन्छन् ।’