१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ, ४ जना फरार

काठमाडौं । विराटनगरमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ३ जहदाका २० वर्षीय दीपेन्द्रकुमार मण्डल र अर्का एक जना छन् । प्रहरीले उनीहरूलाई बिहीवार साँझ पक्राउ गरेको हो ।

मण्डललगायत ६ जनाले ती किशोरीलाई जहदा जयरामपुर धान खेतमा बोलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।