अस्पताल छोडेर डाक्टरहरू आज पनि आन्दोलनमा

काठमाडौं । सुरक्षित कार्यस्थलको माग गर्दै आवासीय डाक्टरहरूले आन्दोलन जारी राखेपछि विगत चार दिनदेखि मुलुकका विभिन्न अस्पतालमा सेवा प्रभावित बनेको छ।

असोज ९ ‘गतेदेखि स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’ को अगुवाइमा विभिन्न मागसहित आन्दोलन भइरहेको छ।

पछिल्लो समय पोखरास्थित मणिपाल, चितवनस्थित माडी, मकवानपुरको हेटौंडास्थित सञ्चो, लमजुङ जिल्ला अस्पतालमा डाक्टरहरूमाथि आक्रमण भएको थियो।

डाक्टरहरूले बलियो कानुन बनाउन सरकारसँग माग गरेका छन्। डाक्टरहरूमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कानुनअनुसार कडा कारबाही गरिनुपर्ने अडानमा उनीहरू छन्।

‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति’ ले बिहीबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर मागबारे जानकारीसमेत गराइसकेका छन्।