आखिर किन पक्राउ परे त नायक अनमोल केसी, किन खेल्दिन भने त एग्रिमेन्ट गरेको फिल्म ?

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा असल छवि बनाएका नायक अनमोल केसीलाई आज प्रहरीले पक्राउ गरेको खबरले फ्यानहरुलाई दुःखी त पक्कै बनाएको छ । सुदर्शन थापाले निर्देशन गर्न लागेको चलचित्र रावायणमा काम गर्ने भनेर एडभान्स लिएको तर पछि धोका दिएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । त्यसकै आधारमा प्रहरीले पक्राउ गरेर उनलाई हिरासतमा राखेको छ । भोलि शनिबार भएकाले अब कम्तिमा दुई दिन उनले हिरासत बस्नुपर्ने छ ।

निर्देशक थापाको दाबीअनुसार चलचित्रको तयारीमै सवा करोड रुपैयाँ खर्च भइसकेको छ । ७० जना प्राविधिक तथा कलाकारलाई अग्रिम भुक्तानी दिइसकेको उनले बताएका छन् । उनीहरुलाई दिएको पैसा फिर्ता लिन कठिन भएकाले सुदर्शनले प्रहरी गुहारेको निकटस्थको भनाइ छ । आफूले पैसा फिर्ता लिने कुरा गर्दा प्राविधिकहरुले रुवावासी गरेको सुदर्शनले प्रहरीलाई बताएका छन् ।

निर्माण पक्षका अनुसार चलचित्र सुटिङमा जानुभन्दा तीन दिनअघि अनमोलले आफू सो फिल्म खेल्न नसक्ने जनाउ दिएका थिए । उनले सामाजिक सञ्जालमा तीन दिनअघि एक स्टाटस लेख्दै आफू अब कुनै पनि फिल्म दबाब र हतारमा नगर्ने बताएका थिए । साथै आफ्नो आधिकारिक पेजबाट घोषणा नभएसम्म कुनै पनि फिल्ममा आवद्ध भएको भनेर समाचार सम्प्रेषण नगर्न पनि उनले आग्रह गरेका थिए ।

स्रोतका अनुसार अनमोलले यो फिल्म बुवा भुवन केसीको दवावमा गर्न राजी भएका हुन् । तर, स्क्रिप्ट चित्त नबझेपछि उनले मनस्थिति बदलेको स्रोतको भनाइ छ । शिवम् अधिकारीले लेखेको स्क्रिप्टमा परिमार्जनका लागि अनमोलले सुझाव दिएका थिए । साथै नेगेटिभ रोलको तयारीका लागि आफूलाई समय चाहिने उनले बताएका थिए । तर, निर्देशक थापाले भने सबै तयारी भइसकेको भन्दै थप समय दिन नसकिने बताए । यत्तिकै सुटिङमा जाने भएपछि अनमोल ब्याक भएका हुन् ।

स्क्रिप्ट चित्त नबुझेकै कारण अनमोलले निर्माण पक्षसँग कुनै लिखित एग्रिमेन्ट भने गरेका थिएनन् । स्रोतका अनुसार करिब ३० लाख आसपास पारिश्रमिकमा अनमोलले यो फिल्म खेल्ने मौखिक समझदारी भएको थियो । मौखिक कुराकानीकै आधारमा उनले टोकन मनिका रुपमा १० लाख रुपैयाँ लिएका थिए । सो रकमको चेक उनलाई दिइएको थियो । अनमोलले अहिलेसम्म चेक नसाटेको बुझिएको छ । उनले चेक फिर्ता पनि दिइसकेका छैनन् ।

यद्यपि, अहिले १० लाख फिर्ता भन्दा पनि निर्माण पक्षले ठूलो रकम क्षतिपूर्ति माग गरेको छ । सवा करोड रुपैयाँ खर्च भइसकेकाले त्यसको क्षतिपूर्ति अनमोलले गर्नुपर्ने दावी निर्देशक थापाको छ । उनले अर्को नायकलाई लिएर चलचित्रको काम अघि बढाउने सहज विकल्प थियो । तर, अनमोललाइ पाठ सिकाउने भन्दै उनी प्रहरीमा पुगेका हुन् ।

अनमोलले ‘रावायण’ भन्दा अगाडि नै दुईवटा फिल्म साइन गरिसकेका थिए । अहिले उनी रोहित अधिकारीले निर्देशन गर्ने ‘फकीफर्की’ मा काम गरिरहेका छन् । यो सकेपछि ‘जेरी अन टप’ मा खेल्ने उनको तयारी छ ।

लिखित एग्रिमेन्ट नभएकाले अनमोलविरुद्धको उजुरी त्यति बलियो भने नहुन सक्छ । निर्माण पक्षले अनमोलसँग गरिएको च्याटका स्क्रिनसट र पैसा लिएको प्रमाणलाई प्रहरीमा पेश गरेको छ । प्रहरीले दुवै पक्षलाई छलफलमा राखेर विवाद मिलाउने प्रयास गरेको तर अनमोल आउन तयार नभएको दावी पनि गरिएको छ ।

अनमोलका बुवा भुवन केसी भने अहिले युरोपतिर छन् । बेल्जियममा एउटा अवार्ड कार्यक्रममा उनी सहभागी हुने तय भएको थियो । तर, अवार्ड आयोजकले नै भिसा पाएनन् । भुवन र उनकी ‘पत्नी’ जिया केसीको भने भिसा लागिसकेको थियो । त्यसैले उनी आफ्नै खर्चमा जियालाई लिएर युरोप पुगेका हुन् ।