एमाले कर्णाली अधिवेशन : आज १२ बजेदेखि मतदान सुरू हुने, को-को छन् त अध्यक्षको उम्मेदवारमा ?

काठमाडौं । नेकपा एमालेको कर्णाली प्रदेश नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ।

शुक्रबार सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार आज दिउँसो साढे १२ बजेदेखि मतदान सुरू हुनेछ। मतदान प्रदेश अधिवेशन निर्वाचन कमिटीको कार्यालय सुर्खेतमा हुने बताइएको छ।

एमालेको कर्णाली प्रदेशको नेतृत्व लिन पाँच जनाले उम्मेदवारी दिएका छन्।

यामलाल कँडेलको टिमबाट सल्यानका गुलावजंग शाह, गोरख बोगटीको टिमबाट कालिकोटका मिनबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै कर्णालीका पूर्वसभामुख राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

उपाध्यक्षमा दानिसंह परियार, टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको छ।

सचिवमा रूद्रबहादुर शाही, डण्डी शर्मा र ध्रुवकुमार शाहीको उम्मेदवारी परेको छ।

उपसचिवतर्फ समावेशीमा मेनका पछाई र पद्मा खड्काको उम्मेदवारी परेको छ।

खुलामा नारायणकुमार शाह, रविन्द्रराज शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, कमल शाही, धिरेन्द्रराज गिरी, तेजकुमार विकको उम्मेदवारी परेको छ।

यस्तै लेखा आयोगको अध्यक्षमा जितबहादुर मल्ल, दीर्घराज न्यौपाने र सुरज थापाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कमिटीको कार्यालयले जनाएको छ।

अधिवेशनको उद्घाटन समारोहमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र महासचवि शंकर पोखरेलले कर्णालीको अध्यक्ष सर्वसम्मत टुंग्याउन निर्देशन दिएका थिए।

तर सहमति नभएपछि निर्वाचनबाटै प्रदेश कमिटी चयन हुने भएको छ। निर्वाचन कमिटीले आज बिहान साढे ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ।

अध्यक्षमा कालीकोटका मिनबहादुर शाहीलाई पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको समर्थन छ। उनले शाहीको नाम सर्वसम्मतिले टुंग्याउन निर्देशन दिएका थिए।

शाही प्रदेशबाट स्थायी कमिटी सदस्य गोरख बोगटी पक्षका नेता हुन्। प्रदेशबाटै अर्का स्थायी कमिटी सदस्य यामलाल कँडेलले सल्यानका गुलाबजंग शाहलाई अध्यक्षमा अघि सार्न खोजेका छन्।

यसअघि प्रदेश सभा सदस्य रहेका शाह पार्टीको केन्द्रीय सदस्य हुन्। कर्णाली प्रदेश कमिटीका लागि निर्वाचन भएमा अध्यक्षका लागि यिनै दुई नेताबीच प्रतिस्पर्धा हुने देखिएको छ।

अधिवेशनमा विभिन्न मोर्चा संगठन र जिल्लाबाट छानिएका ६०४ जना प्रतिनिधिहरु सहभागी छन्।

ताजा अपडेट