होस्टेलमा झुण्डिएको अवस्थामा ८ वर्षीय बालक मृत फेला, आक्रोशित आफन्तहरुले आन्दोलन गरेपछि बालवाटिका स्कुल तनावग्रस्त

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक मृत भेटिएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत भेटिएका बालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–१ का ८ बर्षीय सलाम पुलामी मगर हुन्।

उनी उषा बालबाटिकामा कक्षा २ मा अध्ययनरत थिए । होस्टेलमा उनी झुण्डिएको अवस्थामा फेला परेका छन् । शुक्रवार साँझ झुण्डिएको अवस्थामा फेला परेका बालकको शव‌ अहिलेसम्म उठाइएको छैन।

आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै लास उठाउन दिएका छैनन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपलाचनेद्र भट्टराईले घटना शंकास्पद रहेको र अनुसन्धान गरिने बताए ।

त्यहाँ अहिले प्रहरी तैनाथ गरिएको छ । आक्रोशित आफन्तहरुले आन्दोलन गरेपछि उक्त क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ।

आक्रोशित भीडले घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा नै उत्रिएको छ। भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ । प्रहरीले सञ्चालक समितिलाई नियन्त्रणमा लिएको छ।