प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक रास्वपाले किन गर्यो त बहिस्कार ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बहिस्कार गरेको बताएका छन्। सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएकोप्रति आपत्ति जनाउँदै रास्वपाले बैठक बहिस्कार गरेको सभापति लामिछानेले उल्लेख गरेका छन्।

रास्वपा सभापति लामिछानेले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति विरोध जनाउँदै प्रधानमन्त्रीले बोलाएको बैठक बहिस्कार गरेको बताएका छन्।

‘चाड पर्वहरुको मुखमा आम उपभोक्ताहरुलाई मार पर्ने गरी सरकारले गरेको मुल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज (आइतबार) प्रधानमन्त्री ज्युले बोलाउनुभएको बैठक हामीले बहिस्कार गरेका छौँ। थप कार्यक्रमबारे जानकारी दिनेछौँ,’ लामिछानेले सामाजिक सञ्जालमा भनेका छन्।

प्रधानमन्त्री प्रचण्डले आइतबारका लागि संसद्‌मा प्रतिनिधित्व गर्ने, राष्ट्रिय मान्यताप्राप्त ७ दलको बैठक बोलाएका छन्। सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन, संसद् बैठक सञ्चालन लगायतबारे छलफल गर्न प्रधानमन्त्रीले आइतबारका लागि सर्वदलीय बैठक डाकेका हुन्।