बझाङ भूकम्प : जयपृथ्वी राजमार्ग अवरुद्ध, क्षतिविवरण संकलन गर्दै प्रहरी

काठमाडौं । लगातार दुईवटा शक्तिशाली भूकम्प गएपछि सुदूपश्चिमवासीहरू त्रसित बनेका छन् । मंगलबार दिउँसो २५ मिनेटको फरकमा दुई शक्तिशाली भूकम्पका झट्का महसुस गरिएको थियो ।

पहिलो भूकम्प २ बजेर ४० मिनेटमा ५.३ म्याग्च्यिूडको थियो भने दोस्रो झन शाक्तिशाली थियो । दोस्रो झड्का ३ बजेर ६ मिनेटमा ६.३ म्याग्निच्यूडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो शक्तिशाली भूकम्पको महसुस पूरा देशभर भएको छ । पहिलो भूकम्प बझाङको तालाकोट गाउँपालिका केन्द्रबिन्दु बनाएर गएको थियो भने दोस्रो सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पले केही व्यक्तिहरू घाइते भएका छन् । बझाङमा घरहरू भत्किएका छन् । उता भूकम्पपछिको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सुदूरपश्चिम प्रहरी प्रवक्ता एसएसपी प्रज्ज्वल महर्जनले क्षतिको विवरण संकलनको काम भइरहेको जानकारी दिए ।

उनले केही सामान्य घाइते भएको र उनीहरूको उपचार भइरहेको विवरण प्राप्त भएको बताए । उनले विस्तृत विवरणहरू भने आइनसकेको जनाए ।