भन्सार राजश्व छली गरी ल्याइएको १२ लाख मूल्य बराबरको अवैध मालसामान पक्राउ

काठमाडौं । भारतबाट भन्सार राजश्व छली गरी नेपाल भित्र्याइएको १२ लाख मूल्य बराबरको अवैध सामान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सीमावर्ती क्षेत्रको विभिन्न सिमानाकाबाट भन्सार राजश्व छली गरी नेपाल भित्र्याइएको सो मूल्य बराबरको मालसामान पक्राउ गरेको हो ।

प्राप्त सूचनाको आधारमा भन्सार छली गरेर चोरनाका भएर भित्र्याइएका अवैध समान लत्ताकपडा, खाद्यान्न, कष्मेटिक, इलेकट्रोनिक, मदिरा सौफी लगायतका मालसामान पक्राउ गरेको हो ।

उक्त मालसामान आसारपसारमा प्रयोग हुने तीनवटा मोटरसाइकल र तीन पाङ्ग्रे अटोलाई समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सवारी साधनसहित बरामद गरिएका उक्त मालसामानको मूल्य १२ लाखभन्दा बढी रहेको तथा बरामद सामानसहित सवारी साधनलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक एवं प्रवक्ता दामोदर केसीले बताए ।

हिन्दुहरूको महान् पर्व विजयादशमी र दीपावलीको मौका छोपी तस्करीले सीमापारि भारतबाट मालसामानहरू भन्सार छलेर नेपाल भित्र्याउने काममाथि नेपाल प्रहरीले २४ घण्टा कडा निगरानी राखेको समेत प्रहरी उपरीक्षक एवं प्रवक्ता केसीले जानकारी दिए ।