४ करोड राजश्व छली मुद्दामा फरार रहेका शेष पक्राउ

काठमाडौं ।  झन्डै ४ करोड राजश्व चुहावटको मुद्दामा फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कपिलवस्तुको शिवराज नगरपालिका-४ घर भई हाल बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१ बस्ने कुतबुद्दिन शेषलाई बुधबार पक्राउ गरेको हो।

३६ वर्षका शेषलाई कपिलवस्तुको चन्द्रौटाबाट पक्राउ गरिएको हो।

उनीविरूद्ध नेपाल पान मसला उद्योग चलाउँदा ३ करोड ९९ लाख १० हजार ९०३ रुपैयाँ राजश्व छलेको मुद्दा छ। उक्त मुद्दामा उच्च अदालत तुलसीपुरले शेषलाई ६ महिना कैदसँगै विगो र जरिवाना गरी उनीबाट ५ करोड ९८ लाख ३६ हजार ३ सय ५५ रुपैयाँ असुल्न आदेश दिएको थियो।

शेषलाई ब्युरोले  बिहीबार काठमाडौं जिल्ला अदालतमा बुझाएको छ।