काठमाडौं । विराटनगरमा ‘ग्याङफाइट’का लागि हिँडेको १५ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । प्रेमिकाको विषयमा विवाद भएपछि शुक्रबार दिउँसो घरेलु हतियारसहित ग्याङफाइटका लागि आएको समूहलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने मध्ये ९ जना १८ वर्ष मुनिका छन् ।
प्रहरीका अनुसार विराटनगरको एक कलेजमा पढ्ने युवतीलाई दुई जना युवकले मन पराएका थिए । प्रेमिकाको विषयमा यसअघि पनि दुई पक्षबीच विवाद भएको थियो । शुक्रबार फाइनल गर्ने भन्दै एउटा समूहले सुनसरीको बर्जुबाट युवाहरुको टोली बोलायो । अर्को समूह पनि विराटनगरमा तयारी अवस्थामा थियो ।
घरेलु हतियारसहितको टोली आएको जानकारी पाएपछि प्रहरीले सक्रियता बढायो । सुरुमा विराटनगरको घोगापुल चोकमा भेला भएका मध्ये दुई जना पक्राउ परे भने अरु भागे । घरेलु हतियारसहित पक्राउ परेकाहरुलाई खोजी गर्ने क्रममा प्रहरीले १३ जनालाई सनीमन्दिर चोक नजिकैबाट पक्राउ गर्यो ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार पक्राउ परेको टोली एउटा समूह मात्रै हो । अर्को समूहको खोजी भइरहेको उनले बताए । “ग्याङफाइटकै लागि बाहिरबाट मान्छे बोलाएको देखिन्छ,” उनले भने, “झगडाका लागि जादै गर्दा एउटा समूह घरेलु हतियारसहित पक्राउ पर्यो ।”
प्रहरीको सक्रियताले सम्भावित दोहोरो झडपका कारण हुनसक्ने क्षति टरेको उनले बताए । उनका अनुसार पक्राउ परेकाको साथबाट तरबार, बाम्फोक, फलामको नोख, लाट्ठीलगायतका घरेलु हतियार बरामद भएको छ ।
‘ग्याङफाइट’का लागि हतियार बोकेर हिँड्ने मोरङको कटहरी गाउँपालिका–४ का १८ वर्षीय शेखकवि अली, सुनसरीको बर्जु गाउँपालिका–६ का १८ वर्षीय विजय चौधरी, १९ वर्षीय राहुल दास, ललनकुमार मेहता, सञ्जय मेहता र प्रेम चौधरी पक्राउ परेका छन् ।
पक्राउ परेका अन्य बालक पनि बर्जु गाउँपालिका– ६ कै हुन् । पक्राउ परेका शेखको साथबाट तरबार बरामद भएको थियो । उनी मुख्य योजनाकार भएको प्रहरीले बताएको छ ।
“प्रेमिकाको विषयलाई लिएर यसअघि पनि दुई पक्षबीच विवाद भएको देखियो,” उनले भने, “विवादकै कारण आज ‘ग्याङफाइट’को योजना बनाएको पाइयो ।” ‘ग्याङफाइट’को तयारीमा रहेका केही फरार रहेको उनले बताएका छन् ।
Add Comment