सालको कडीसहित तीन जना पक्राउ

काठमाडौं । कैलालीमा सालको कडीसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट सात फिट लम्बाइ र ३÷४ इन्च चौडाइ भएका एक सय सात थान कडीसहित तीन जना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार प्रहरी सहायक निरिक्षक धर्मराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई ट्रकमा सालका कडी ढुवानी गर्दा गर्दै पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३१५७ नम्बरको ट्रकका चालक बैतडीको पाटन नगरपालिका–८ का २५ वर्षीय सिद्धराज भट्ट, सोही ठाउँका ट्रकका साहु ४२ वर्षीय देवराज भट्ट र काठका साहु २८ वर्षीय मदन छेडाल पक्राउ परेका हुन् ।

आइतवार बिहान ४ बजेको समयमा तीन लाख मूल्यका सालका कडी, ट्रक र तीन जनालाई पक्राउ गरिएको हो । घटनाको थप अनुसन्धान जारी छ । प्रहरीले अनुसन्धान सकेर कारबाहीका लागि वन कार्यालयमा बुझाउने बताएको छ । छेडाल गोदावरी नगरपालिका–८ का स्थानीय हुन् ।