विश्वकप क्रिकेट : आज भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । १३औं संस्करणको पुरुष एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको चौथो दिन आज आयोजक राष्ट्र भारत र अस्ट्रेलिया भिड्ने छन्।

भारतले सन् १९८३ र २०११ मा गरी दुई पटक एकदिवसीय विश्वकपको उपाधि उचालेको छ। यता, अस्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा लगातार तीन संस्करणमा र सन् १९८७ र २०१५ समेत गरी कुल पाँच पटक विश्वकपको उपाधि उचालेको छ। विश्वकप इतिहासमा अस्ट्रेलिया सर्वाधिक सफल टोली हो।

यी दुवै टोली यस पटक पनि उपाधिका दावेदार हुन्। त्यसमा पनि भारत अहिले एकदिवसीय विश्व वरीयतामा शीर्ष स्थानमा छ। केही साताअघि मात्र भारतले एशिया कप समेत जितेको थियो। र, प्रतियोगिता समेत उसकै घरेलु मैदानमा भइरहेकाले भारत उपाधिको बलियो दावेदार हो।

यता, अस्ट्रेलिया अहिले विश्व वरीयतामा तेस्रो स्थानमा छ। अस्ट्रेलियाको पछिल्लो लय पनि उत्कृष्ट छ। यस्तै, ‘हेड टु हेड’मा पनि अस्ट्रेलिया निकै अगाडि छ। यी दुई टोलीबीच कुल १४९ एकदिवसीय खेल हुँदा ८३ खेलमा अस्ट्रेलिया विजयी भएको छ। यस्तै, ५६ खेल भारतले जितेको छ भने १० खेल नतीजाविहीन भएको छ।

आजको खेलमा भारतका लागि शुभमन गिलको स्वास्थ्य अवस्था टाउको दुखाइ बन्न सक्छ। एकदिवसीय वरीयतामा दोस्रो स्थानमा रहेको र पछिल्लो समय उत्कृष्टमा लयमा रहेका ब्याटर गिललाई डेंगी पुष्टि भएको छ। उनले आजको खेल खेल्छन् वा खेल्दैनन् भन्ने टुंगो लागिसकेको छैन।

अस्ट्रेलिया आज नियमित कप्तान प्याट कमिन्सको नेतृत्वमा मैदानमा उत्रनेछ। भारत पनि नियमित कप्तान रोहित शर्माको नेतृत्वमा मैदानमा उत्रनेछ।

यो खेल चेन्नईस्थित एमए चिदम्बरम रंगशालामा हुनेछ। खेल नेपाली समय अनुसार दिउँसो २स्१५ बाट शुरू हुनेछ।