सुन तस्करी प्रकरणमा सीआईबीकाे प्रतिवेदनः महरालाई उन्मुक्ति, छोराविरुद्ध मुद्दा चलाउन सिफारिस

भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आफ्नो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ । सीआईबीले आइतबार वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध मुद्दा चलाउनुनपर्ने सुझाव दिएको छ । तर, यही प्रकरणमा पक्राउ परेका महराका छोरा राहुलविरुद्ध भने मुद्दा चलाउनुपर्ने सीआईबीको सिफारिस छ ।

२०७९ माघ २९ मा भेप त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको थियो । सो भेपभित्र सुन रहेको थाहा पाएपछि भन्सारकै कर्मचारी भन्सारका अधिकृत रेवन्त खड्कालगायतको टोली सो सुन बेचेको थियो । सुन बेचेको हल्ला भएपछि यो प्रकरणमा सीआईबीले अनुसन्धान गर्दा महरा बाबुछोराको नाम मुछिएको थियो । कृष्णबहादुर महराले सो भेप छोड्न भन्सारमा दबाब दिएको चर्चा भएको थियो । यो प्रकरणमा महरा बाबुछोराको नाम मुछिए पनि प्रहरीले भने चौतर्फी विरोध नहुँदासम्म उनीहरूसँग बयानसमेत लिएन । अत्यधिक दबाब बढेपछि राहुललाई पक्राउ गरियो भने कृष्णबहादुरसँग बयान मात्र लिइयो ।

सीआईबीले यो प्रकरणमा राहुल महरा, चिनियाँ तस्कर दावाजिन वाङका चालक लोकेन्द्र पौडेल र दावा छिरिङविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ । अब सीआईबीको प्रतिवेदन अध्ययनपछि जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा अभियोजन गर्नेछ । मुद्दा को कोमाथि चलाउने भन्ने निर्णय सरकारी वकिल कार्यालयले गर्नेछ ।