उपप्रधानमन्त्री श्रेष्ठ बीआरआई सम्मेलनमा भाग लिन चीन जाँदै

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ २९ असोजमा चीन भ्रमणमा जाने भएका छन् । चीन सरकारले आयोजना गर्ने तेस्रो बीआरआई सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री श्रेष्ठ चीन भ्रमणमा जान लागेका हुन् । चीनले ३० असोज र १ कार्तिक (१७ र १८ अक्टोबर) मा तेस्रो बीआरआई फोरम आयोजना गर्दैछ ।

उक्त फोरममा भाग लिन उप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा एक उच्चस्तरीय टोली चीन भ्रमणमा जान भएको परराष्ट्र स्रोतले उल्लेख गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले २०१३ मा बीआरआई परियोजना सुरु गरेका थिए । उक्त परियोजना सुरु भएको एक दशक पूरा भएको उपलक्ष्यमा तेस्रो फोरम आयोजना गर्न लागेको हो ।

चीनको महत्वकांक्षी यो परियोजनामा विश्वका एक सय ५० भन्दा बढी मुलुक सहभागी भइसकेका छन् । त्यस क्रममा चीनले ५० खर्ब अमेरिकी डलरभन्दा बढ्ता खर्च गरिसकेको छ । नेपालले सन् २०१७ मा बीआरआई परियोजनामा सहभागी हुने सहमति गरेको थियो । तर, अहिलेसम्म बीआरआईअन्तर्गतका परियोजना कार्यान्वयन हुन सकेका छैनन् ।

आन्तरिक राजनीतिमा देखिएको खिचातानीका कारण बीआरआई कार्यक्रम अन्तर्गतका परियोजना छनौट भए पनि गति भने लिन सकेको छैन । दोस्रो बीआरआई फोरममा नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा उच्चस्तरीय टोली चीन भ्रमणमा गएको थियो । त्यतिबेला भण्डारीले विशेष सम्बोधन गरेकी थिइन् । चीनले बीआरआई परियोजनाले एक दशक पूरा गरेका कारण तेस्रो बीआरआई फोरमबाट परिमार्जित रुपमा अगाडि बढाउने नीति लिएको छ । तेस्रो बीआरआई फोरम फर इन्टरनेशलन कोअपरेशनको मूल थिम भने ‘हाई क्वालिटी बीआरआई कोअपरेशनः टुगेदर फर कमन डेभ्प्लमेन्ट एण्ड प्रस्परेटी’ रहेको छ ।