सन्दीप लामिछानेले भने : भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय टिमबाट आगामी दिनका प्रतियोगिता नखेल्ने घोषणा गरेका छन् । गए राति सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन् ।

उनले आफू कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै आफूलाई पुनर्जागृत गर्न आवश्यक रहेकाे र त्यसका लागि केही समय परिवारसँगै बस्न चाहेको उल्लेख गरेका छन् ।

सन्दीप यतिबेला नाबालिग बलात्कारको अभियोग खेपिरहेका छन् । उनीविरुद्ध दायर गरिएको मुद्दा लामो समयदेखि जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

‘भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु । आफूलाई पुनर्जागृत गर्न आवश्यक छ र त्यसका लागि परिवारसँग समय चाहिन्छ भन्ने महसुस गरेको छु । मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु । सबैलाई धन्यवाद । अर्को भेट नभएसम्म…’, सन्दीपले लेखेका छन् ।