तीनकुने सामूहिक हत्या प्रकरणका अभियुक्तलाई गोलघरमा राखियो

काठमाडौं । तीनकुने सामूहिक हत्या प्रकरणका अभियुक्त सञ्जय भण्डारीलाई केन्द्रीय कारागारको गोलघरमा राखिएको छ।

गोलघरलाई कारागारभित्रको जेल भनेर बुझ्ने गरिन्छ। गोलघरमा राखिने कैदीबन्दीलाई अलग्गै कोठामा कडा सुरक्षा घेराभित्र राखिने केन्द्रीय कारागार प्रमुख ललितकुमार बस्नेतले बताए।

‘उनी अलि गम्भीर प्रकृतिको अपराधमा संलग्न देखिएको र सिरियल किलर पनि हुनसक्ने भएकाले अरू कैदीबन्दीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सिधै गोलघर पठाइएको हो,’ उनले भने।

जिल्ला अदालतले शुक्रबार भण्डारीलाई पुर्पक्षका लागि थुनामा राख्न सुन्धारास्थित केन्द्रीय कारागार पठाएको थियो।

काठमाडौंको तीनकुनेस्थित दिव्य काठ मिलमा भएको सामूहिक हत्याको अभियोग लागेका सञ्जयविरूद्ध सरकारी वकिल कार्यालयले शुक्रबारै मुद्दा दायर गरेको थियो। आजै उनको थुनछेक बयान र बहस सकेर जिल्ला अदालतले थुनामा पठाउने आदेश गरेको हो।