पद गुमेपछि रिनाकुमारीले भनिन् : म एउटा पार्टीबाट चुनाव जितेर अर्को पार्टीमा कसरी जान मिल्छ

काठमाडौं । एमाले परित्याग गरेको भन्दै निर्वाचन आयोगले रौतहटको मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साहको पद रिक्त भएको जानकारी गरायो । तर साहले आफू एमालेमै रहेको बताएकी छिन् ।

‘आफुले एमालेबाट चुनाव जितेको र एमालेमै रहेको उनले बताएकी छिन् । एमाले परित्याग गरेर प्रभु साहको पार्टीमा लागेको आरोप लागेकोमा उनले भनिन्, ‘प्रभु साहको पार्टीमा लागेको छैन । उहाँको पार्टीको केन्द्रीय समिति बैठकमा पनि गएको छैन । म एउटा पार्टीबाट चुनाव जितेर अर्को पार्टीमा कसरी जान मिल्छ ?’

एमालेको केन्द्रीय कमिटी बैठकको निर्णयबारे जानकारी भने आएको उनले बताइन् । ‘आज जानकारी पाएको हुँ,’ उनले भनिन्, ‘छलफल गर्दै छु । कानुनी बाटोमा जान सक्छु ।’

एमाले र आयोगको निर्णयविरुद्ध उनले अदालत जाने संकेत दिएकी छिन् । २०७९ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित साह अन्य दलमा प्रवेश गरेको भन्दै एमालेले पद खारेजीका लागि आयोगमा निवेदन दिएको थियो ।

एमालेले दिएको उक्त निवेदनमाथि छानबिन गरी आयोगले नगर प्रमुख साहको पद स्वतः रिक्त भएको जानकारी गराएको हो । निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम ९२० बमोजिम साहको पद स्वतः रिक्त भएको जनाएको छ ।

पद खारेजीमा परेकी साह आम जनता पार्टीका नेता प्रभु साहकी श्रीमती हुन् । स्थानीय तहको चुनावका बेला प्रभु साहले मधेशमा एमालेबाट विद्रोह गरेका थिए । पछि उनले एमाले त्याग गरी आम जनता पार्टी गठन गरेका थिए ।