काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै छन् । प्रदेश सभाको बिहान ११ बजेपछि बस्ने बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची छ । गएको शनिवार प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिन लाग्नुभएको हो । राप्रपा र उपसभामुखबाहेक सबै दलका ९३ सदस्यीय प्रदेश सभामा ८६ सांसदले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन लागेका छन् ।
कांग्रेस, एमालेसहित माओवादी, एकीकृत समाजवादी लगायतका दलले पनि कार्कीलाई विश्वासको मत दिने बताएका छन् । राप्रपाले यसअघि नै तटस्थ बस्ने निर्णय गरेको थियो । कांग्रेसबाट विद्रोह गरेका आठ तथा एमालेका ३९ प्रदेश सांसदको समर्थनमा उहाँ मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
गएको आइतवार शपथ लिएका कार्कीले एमाले तथा कांग्रेसबाट एक, एकजना गरी विनाविभागीय मन्त्रीसमेत नियुक्त गरिसक्नुभएको छ । कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता शेखर कोइरालाबीच सत्ता गठबन्धनलाई अझै बलियो बनाउने सहमति भएको थियो ।
तर आइतवार मन्त्रिपरिषद् विस्तार गर्दा मुख्यमन्त्री कार्कीले एमालेका नेतालाई पनि मन्त्रिपरिषदमा सहभागी गराएपछि गठबन्धन दलभित्र असन्तुष्टि छ ।
Add Comment