चीनसँग सिमाना भएका १४ वटा व्यापारिक नाका नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुने बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) मुस्ताङ शाखाले आज जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले हालै चीन भ्रमणका क्रममा १४ वटा व्यापारिक नाका नियमित सञ्चालन गर्ने समझदारी भएको जानकारी गराए ।

‘मुस्ताङको कोरलालगायत नाकाको सिमा क्षेत्रका बासिन्दालाई प्रवेशपत्रको आधारमा आवतजावत गर्ने व्यवस्था मिलाउने समझदारी भएको छ,’ प्रचण्डले भने, ‘कोरला नाकाको नेपालतर्फ भौतिक पूर्वाधार निर्माणमा चीनले सघाउने मेरो भ्रमणका क्रममा सहमति भएको थियो ।’

प्रधानमन्त्री प्रचण्डले कार्यक्रमअघि हेलिकोप्टरबाट कोरला नाका, लोमान्थाङ, मुक्तिनाथ र गत साउनको बाढीले क्षति पुगेको कागबेनी निरीक्षण गरे । कोरला नाका जोड्ने कालीगण्डकी कोरिडोर सडक स्तरोन्नतिलाई पूर्णता दिन सरकारले प्राथमिकता दिएको पनि उनले बताए ।

नेपालको प्रमुख चुनौतीका रूपमा रहेको भ्रष्ट्राचारविरुद्ध सरकारले थालेको शुसासनको अभियान नरोकिने पनि प्रधानमन्त्री प्रचण्डले बताए । गठबन्धनले पाँचै वर्ष सरकार चलाउने बताउँदै उनले सत्ता बाहिर रहँदा केही नेताहरूलाई छटपटी भएकोसमेत टिप्पणी गरे ।

कार्यक्रममा उक्त पार्टीका गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेल, प्रदेश अध्यक्ष गायत्री गुरुङले तीन महिने जनतासँग अभियानले माओवादीलाई जनतामा फर्काएको र जनताको समस्या समाधानसँगै सङ्गठन निर्माणमा उत्साह छाएको बताए ।