नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हतासमा छन् : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले डेढ दशकयता नेपालीमा उत्साह नभएको उल्लेख गर्दै लोकहित र अग्रगतिको नाममा आएको परिवर्तनले देश झन् खराबीतिर गएको भन्ने आमगुनासो रहेको बताएका छन्।

विजयादशमीका अवसरमा देश र विदेशमा रहेका नेपालीलाई शुक्रबार शुभकामना दिँदै पूर्वराजा शाहले नेपालरुपी सुन्दर बगैँचालाई सजाउनु सबैको साझा दायित्व रहेको बताएका छन्।

‘महँगी, रोग, शोक, र भोकको ताप छ। हामीले नजिकबाट नियालेर हेर्दा र बुझ्दा जनता अति नै निराश र हतासमा छन्। हामी निरन्तर परनिर्भर हुँदै जानुले हाम्रो आर्थिक अवस्था जर्जर बन्दै गएको छ।’ विज्ञप्तिमा पूर्वराजा शाहले भनेका छन्, ‘लोकहित र अग्रगतिको नाममा भनेर आएको परिवर्तनले न राम्रो गर्‍यो न सुधार आयो। हाम्रो देश झन् झन खराबीतिर गयो भन्ने आम जनगुनासो हाम्रा गाउँ, सहर, लेक, बेंसी, कुना, कन्दरा सबैतिर सुनिन्छ।’

उनले कसैले कसैप्रति निषेध र निन्दा नगर्ने, सबैले सबैको आस्थाउपर उदारभाव राख्न प्रयत्न हुनैपर्ने उल्लेख गर्दै सद्भाव बिनाको राष्ट्रको परिकल्पनासमेत गर्न नसकिने पनि बताएका छन्। पूर्वराजा शाहले नवदुर्गा भवानीले राष्ट्र र राष्ट्रवासीको हित चिन्तन गर्ने सद्बुद्धि प्रदान गरुन् भन्ने कामना पनि गरेका छन्।

उनले हामी सबै स्वतन्त्र र सार्वभौम राष्ट्रका होनहार सन्तति भएको उल्लेख गर्दै दशैँले हामीलाई सही र सत्य देवी शक्तिको सम्बर्द्धन गर्न प्रेरणा प्रदान गर्ने बताएका छन्। सबै नेपाली भएको र यो साझा फूलबारीको माली बनेर यो सुन्दर बगैँचाको संरक्षण गर्नु नेपालीको दायित्व रहेकोसमेत पूर्वराजा शाहले बताएका छन्।