विश्वकप क्रिकेट : नेदरल्याण्ड्समाथि अष्ट्रेलियाकाे कीर्तिमानी जित

काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलियाले नेदरल्याण्ड्समाथि कीर्तिमानी जित हासिल गरेको छ ।

दिल्ली रंगशालामा बुधबार सम्पन्न खेलमा अस्ट्रेलियाले नेदरल्यान्ड्सलाइ ३०९ रनको विशाल अन्तरले पराजित गरेको हो । विश्वकप इतिहासमै यति फराकिलो अन्तरले जितहार भएको यो पहिलो हो ।

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ८ विकेट गुमाएर तीन सय ९९ रन बनाएकाे थियाे ।अस्ट्रेलियाका लागि ओपनर डेभिड वार्नर र ग्लेन म्याक्सवेलले सतकीय पारी खेलेका थिए ।वार्नरले ९३ बलमा तीन छक्का र ११ चौका सहित १०४ रन जोडे भने म्याक्सवेलले  ४४ बलको सामना गरी आठ छक्का र नौ चौकाको मद्दतले १०६ रनको योगदान गरे । यस्तै, स्टिभ स्मिथले ७१, मार्नुस लाबुसेनले ६२, जोश इङ्लिसले १४ र प्याट कमिन्सले १२ रनको योगदान दिए ।नेदरल्यान्ड्सका लोगन भा बिकले चार, बास डि लिडेले दुई तथा आर्यन दत्तले एक विकेट लिए ।

जितका लागि दिएको ४ सय रनको विशाल लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २१ ओभरमा अलआउट हुँदै ९० रनमा समेटियो । नेदरल्यान्ड्सका विक्रमजित सिंहले सर्वाधिक २५ जोडे । यस्तै, तेजा निदामानुरुले १४, कप्तान स्टक एड्वार्डस र कोलिन एकरम्यानले १२–१२ तथा साइब्रान्ड एन्गलब्रेचले ११ रन बनाए ।अस्ट्रेलियाका एडम जाम्पाले सर्वाधिक चार विकेट लिए । यस्तै, मिचेल मार्शले दुई तथा जोश हेजलउड, मिचेल स्टार्च र प्याट कमिन्सले एक–एक विकेट लिए ।

यो जितसँगै अस्ट्रेलियाले  लगातार तेस्रो जित हात पारेको हो । योसँगै अस्ट्रेलियाको ५ खेलमा ६ अंक भएको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ । त्यसैगरी नेदरल्याण्डसले भने चौथो हार बेहोरेको छ । नेदरल्याण्डसको ५ खेलमा २ अंक रहेको छ र अंक तालिकामा पुछारमा रहेको छ ।