काठमाडौँ । पहिलो पटक संसदीय प्रणालीमा अभ्यास गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक वर्ष पुग्दै गर्दा घरदैलो अभियानमा केन्द्रित भएको छ । राजनीतिमार्फत नयाँ ढङ्गले मुलुकका लागि केही गर्ने विश्वासका साथ पार्टी गठन गरी निर्वाचन होमिएको रास्वपाले अपेक्षाभन्दा बढी प्राप्त गरेको मतले पार्टीको भविष्य उज्जवल हुने आधार खडा गरेको छ । यसै मेसोमा पार्टीले ‘मिसन ८४’लाई केन्द्रित गरी पार्टी अभियानलाई थप सङ्गठित र बलियो बनाउँदै अघि बढेको छ ।
सोही अभियानअन्तर्गत पार्टी सङ्गठन परिचालन गरिरहेका प्रतिनिधिसभा सदस्य एवं रास्वपाका उपभापति डोलप्रसाद अर्याल एक वर्षको ‘रिपोर्ट कार्ड’ बोकेर धादिङका जनताको घरदैलोमा पुगेका छन् । जनताका लागि देखाउन रिपोर्ट कार्ड वोकेका उनले आफू भने त्यो रिपोर्ट कार्डबाट अझै सन्तुष्ट हुन सकेका छैनन । एक वर्षे अवधिमा विधायिकाको भूमिका प्रभावकारी हुन नसकेको उनको विश्लेषण छ ।
“हामी त सन्तुष्ट छँदै छैनौँ । जुन समय हामीले सदनमा व्यतित ग¥याँै, त्यसबाट जनताले के प्राप्त गरे भन्नेमा हिसाबले हेर्दा सन्तुष्ट हुने ठाँउ कति पनि छैन”, अर्यालले भनृ “जनताको हित हुने विषयमा हामी बाँडिनु भएन । तर हामी कानुन निर्माण गर्न चुकेका हौँ । जसोतसो दुई अधिवेशन सकियो, हाम्रो पार्टीले गर्ने कोसिस गरिनै रह्यो । यद्यपि एक वर्षको काममा सन्तुष्टि हुने ठाउँ छैन ।” उनले दोस्रो अधिवेशनको समीक्षासँगै आफूहरुले आगामी अधिवेशनमा सशक्त रुपमा प्रस्तुत हुने विषयमा प्रतिबद्धतासमेत व्यक्त गरे ।
“हामीले चाहेको संसदीय अभ्यास यो होइन भनेर आन्तरिक छलफल गरिरहेका छौँ । उसो त सुरुका दिनदेखि नै नगरेको पनि होइन”, सांसद अर्यालले भने “जनतासम्म पुगेर उहाँहरुको कुरा ल्याउने, बितेको अधिवेशन, जनताको आशा अपेक्षासम्बन्धी सुझाव र अहिले प्रक्रियामा आएका कानुन बनाउने, आवश्यक कानुनका विषयमा तयारी गरेर अर्को अधिवेशनमा हाम्रो जोडदार उपस्थिति रहने छ ।”
धादिङ मैदी–४ मा जन्मिएका सांसद अर्यालसँग पर्यटन र विप्रेषण क्षेत्रमा २० वर्षको अनुभव छ । विसं २०७९ मा रास्वपाको स्थापनासँगै राजनीतिमा सक्रिय उनगित निर्वाचनमा रास्वपाबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बनेका हुन्। अर्याल सत्तापक्ष र प्रतिपक्षका रुपमा नभइ सदन र मुलुकको विकासका लागि जनताको मुद्दामा एकजुट हुनुपर्ने मान्यता राख्नुहुन्छ । यद्यपि संसदीय अभ्यासमा सांसदहरु राजनीतिक दलको स्वार्थभन्दा माथि उठन नसकेको उनको विश्लेषण छ ।
“धेरै दलका सांसदले आफनो दललाई मात्र प्रतिनिधित्व गरेको पाएँ । सदनको बहस दलभन्दा माथि उठन सकेन”, सांसद अर्यालले भने “सदनभित्र सबै जनताका लागि यी सबै दलले दलभन्दा माथि उठेर छलफल, बहस गर्ने अभ्यास हुनुपर्दथ्यो, तर त्यसो नभएको मैले महसुस गरे । अझ यो ढ्यापढ्यापबाट पास गर्ने प्रवृतिभन्दा माथि उठनुपर्छ ।”
Add Comment