छठको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिई छठको समापन गरियो

 

काठमाडौं । चार दिने छठको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिई छठको समापन गरिएको हो। आजको दिनलाई पारण गर्ने पनि भनिन्छ।

सूर्य भगवानलाई बिहानीको किरणसँगै दूध अर्पण गरी व्रतालुहरूले छठ समापन गरेका हुन्। व्रतालहरु बिहानै वाग्मतीको गौरीघाट, गुहेश्वरी, नयाँ बस्ती क्षेत्र पुगी सूर्य उदाउनसाथ गाईको दुध र प्रसाद अर्पण गरी अर्घ्य चढाइएको थियो।

व्रतालुले जलाशयमा डुबी सूर्यदेवसहित नदीको पूजा आराधना गरी उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो। बुधबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिन पनि हजारौँ व्रतालुको भीड लागेको थियो।

मनोकामना पूरा हुने विश्वासमा विशेष गरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन्।