विश्वविद्यालयले बदलिँदो परिवेशअनुरूप अध्ययन, अध्यापन र अनुसन्धानको दायरालाई व्यापक बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । आज (आइतबार) पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयहरूले राष्ट्रिय, अन्तराष्ट्रिय आवस्यकतालाई ध्यानमा राखेर दक्ष जनशक्ति उत्पादनमा लाग्नुपर्ने जानकारी दिएका छन् । उहाँले विश्वविद्यालयहरुले विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, चिकित्सा, कानुनलगायतका विषयलाई प्राथामिकता दिएर दक्ष जनशक्ति उत्पादनतर्फ लाग्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले ‘देशमा क्रियाशील सबै विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले बदलिँदो परिवेशअनुरूप अध्ययन, अध्यापन र अनुसन्धानको दायरालाई व्यापक बनाई पृथ्वी र मानव जातिमाथि आइपर्न सक्ने तमाम् चुनौती र समस्याहरूको समाधानका लागि सोच्न आवश्यक रहेको बताए ।’

विश्वविद्यालयहरूले आफ्ना पाठ्यक्रममा दीगो विकास, वातावरण संरक्षण, गहन अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राखेर व्यवहारिक, जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिन आवस्यक रहेका उहाँले बतानुभयो । प्रविधिको तीव्र विकास र विस्तारले दक्ष जनशक्तिको उत्पादनले मात्र विश्वबजारमा प्रतिस्पर्धा गर्न सम्भव हुने उहाँको भनाई छ ।

उहाँले सैद्धान्तिक ज्ञान दिनेमात्र नभई विद्यार्थीहरूलाई नवप्रवर्तन, जीवनोपयोगी र व्यवहारिक ज्ञान र सीप सिकाएर आत्मनिर्भर, व्यवसायिक र उद्यमशील बनाउने, नयाँ–नयाँ कुराको खोज, अनुसन्धान र आविष्कार गर्नसक्ने, मुलुकको विकास र समृद्धिका लागि नेतृत्वदायी भूमिका खेल्न सक्ने सिर्जनशील जनशक्ति उत्पादनमा विश्वविद्यालयहरू केन्द्रित हुनुपर्ने बताएका छन ।

२१औँ शताब्दीको आवश्यकता परिपूर्ति र वैकल्पिक साधन–स्रोतहरूको खोजीका लागि विश्वविद्यालयलाई समुदायस्तरमा विस्तार गर्नु आवश्यक रहेको उहाँले जानकारी दिनुभयो ।