यौन शोषणको आरोपमा व्यूटी पार्लरका सञ्चालक प्रहरद्धारा पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिका–१ घर भएका ४३ वर्षीय दिनेश पौडेललाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले सेन्टरबाट दुई नाबालिका र एक युवतीलाई उद्धार गरेको जनाएको छ । उक्त स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तीमा लगाई यौन शोषण गर्ने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले पौडेललाई पक्राउ गरेको हो ।

युवतीहरूलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा बोलाउने गरेको, मसाजका साथै शारीरिक सम्पर्क राख्न दबाब दिने गरेको र पौडेलले भने अनुसारको काम गर्न नमानेमा शारीरिक तथा मानसिक यातना दिनुको साथै अश्लिल फोटो तथा भिडियो सामाजिक सञ्जालमार्फत आफन्तलाई पठाईदिने जस्ता डर त्रासमा पार्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । रातो पुल र एयरपोर्ट नजिकै रहेका पौडेलका दुई वटा स्पा सेन्टरमा काम गर्ने युवतीहरूलाई आलोपालो एक ठाउँबाट अर्को ठाउँमा पठाउने गरेको खुल्न आएको छ ।

पौडेललाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप अनुमति लिई गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।