आज विश्व एड्स दिवस :‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ’ नाराका साथ मनाइदैँ

काठमाडौँ। आज विश्व एड्स दिवस ‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ ’ नाराका साथ देशभर मनाइँदै छ ।

सरकारले समुदायको नेतृत्वमा नै एड्स तथा एचआइभी सङ्क्रमण अन्त्य गर्ने लक्ष्य लिएको छ । समुदायस्तरमा नै सङ्क्रमितहरू बढी अपहेलित पर्ने भएकाले समुदायलाई एड्स अन्त्य गर्ने अभियानमा सहभागी गराउने भएको छ ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जयकुमार ठाकुरले समुदायको नेतृत्वमा एड्स अन्त्य गर्नका लागि यस वर्षको नारा नै ‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ’ राखिएको बताउनुभयो ।

नेपालमा सन् २०३० सम्ममा एड्सलाई अन्त्य गर्नका लागि राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१–२०२६ अघि सारिएको छ ।
रणनीतिअनुसार नेपालबाट एड्स अन्त्य गर्नका लागि ९५÷९५÷९५ अभियान सञ्चालन गरेको छ ।

“एड्स सङ्क्रमितकै समुदायलाई सक्रिय बनाएर एड्स अन्त्य गर्ने अभियान रहेको छ,” उहाँले भन्नुभयो, “समुदायलाई नै अगाडि बढाउँदा एड्सप्रति अपहेलना घट्ने र अन्त्य हुनेछ ।”
झन्डै ९५ प्रतिशतले एचआइभी सङ्क्रमितले आफ्नो सङ्क्रमण थाहा पाउने, ९५ प्रतिशत औषधिको उपचारमा पहुँच र औषधि खानेहरूमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून मात्रामा रगतमा राख्न सक्यो भने उन्मूलन गर्न सकिने उहाँको भनाइ रहेको छ ।

उहाँले ९५÷९५÷९५ अभियानको ९२ प्रतिशत सफलता प्राप्त गरिसकेको बताउनुभयो । “३० हजार सङ्क्रमितमध्ये हामीले करिब २४ हजार पत्ता लगाइसकेका छौँ,” उहाँले भन्नुभयो, “पत्ता लगाएका बिरामीमध्ये ८४ प्रतिशतले नियमित औषधि सेवन गरिरहेका छन् ।” उहाँले औषधि खाइरहेका सङ्क्रमितहरूमा भाइरस रगत एकदम न्यून रहेको छ । “औषधि खाइरहेकामध्ये ९७ प्रतिशतभन्दा बढीको रगतमा भाइरस न्यून मात्रामा रहेको छ,” उहाँले भन्नुभयो, “अलिकति जोडबल ग¥यो भने सन् २०३० सम्म एड्स अन्त्य गर्ने नारा साकार हुन सक्दछ ।”

नेपालमा ९२ प्रतिशतले सङ्क्रमित पत्ता लगाइसकेको, ८४ प्रतिशतले औषधि खाइरकेको र ७२ प्रतिशतको रगतमा भाइरसको भार (भाइरल लोड) न्यून मात्रामा रहेको केन्द्रका निर्देशक डा ठाकुरले बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले एचआइभी सङ्क्रमितमाथि अझै पनि समाजमा लाञ्छना र भेद्भाव रहेकाले हटाउन आवश्यक रहेको बताउनुभयो । “अझ पनि समाजमा एचआइभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सकिएको छैन,” उहाँले भन्नुभयो, “सङ्क्रमितलाई हेर्ने दृष्टिकोणमा परिवर्तनका लागि हामीले समाजको नेतृत्वलाई नै अगाडि सार्ने अभियानमा रहेका छौँ ।”

नेपालमा सन् २०१० को तुलनामा एचआइभीको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ । केन्द्रका निर्देशक डा ठाकुरका अनुसार २०१० को तुलनामा अहिले ८० प्रतिशत मृत्युदर घटेको पाइएको छ । सन् २०२२ मा तीन सय ४४ जनाको एड्सका कारणले मुत्यु भएको थियो । जबकि सन् २०१० मा एक हजार सात सयजनाको मृत्यु भएको थियो । अहिले दैनिक एकजना नयाँ सङ्क्रमित फेला पर्ने गरेका छन्भने एकजना सङ्क्रमितको निधन हुने गरेको छ । अहिले ७७ प्रतिशतको दरले नयाँ सङ्क्रमण घटेको छ ।

नेपालमा सन् २०२२ मा चार सय ८८ जना व्यक्तिमा एचआइभीको नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ । जुन २०१० को तुलनामा ७७ प्रतिशतले कम हो । सन् २०२२ मा ५२ जना बालबालिकामा (जन्मेदेखि १४ वर्ष) उमेरमा नयाँ सङ्क्रमण भएको अनुमान गरिएको छ । सन् २०१० मा दुई सय ७७ जना बालबालिकामा सङ्क्रमण भएको थियो । २०१० को तुलनामा नयाँ बालबालिकामा हुने सङ्क्रमण पनि ७७ प्रतिशतले घटेको पाइएको छ ।

सन् २०२२ को अन्त्यसम्म नेपालमा कूल सङ्क्रमितमध्ये २३ हजार दुई सय ९३ जनाले एन्टिरेट्रोभाइरस (एआरभी) उपचार लिइसकेका छन् । यी सङ्ख्या भनेको कूल एचआइभी सङ्क्रमितमध्ये ७८ प्रतिशतले एआरभी उपचार लिइरहेका छन् । कूल सङ्क्रमितमध्ये शून्य दशमलव १२ प्रतिशत सङ्क्रमण वयस्क मानिसमा र ४५ जना १४ वर्षभन्दा मुनिका बालबालिकामा एचआइभी सङ्क्रमण भएको तथ्याङ्कमा देखाइएको छ ।

मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले सरकारले रणनीतिअनुसार एचआइभी एड्सका काम गरिरहेको बताउनुभयो । उहाँले उपचारबाट बाहिर रहेका करिब छ हजार सङ्क्रमितलाई उपचारमा ल्याउने हो भने सरकारले तोकेको लक्ष्य पूरा हुने बताउनुभयो ।उपचार गरी भाइरल लोड ठीक भएका सङ्क्रमितको समाजमा घुलमिल भई जीविकोपार्जनसम्बन्धी कार्यक्रम ल्याउन आवश्यक रहेको छ ।