खोलाको जग्गा प्लटिङ्ग गर्ने ठेकेदार सहित नापी र मालपोतका हाकिम विरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । ललितपुर जिल्लाको कोड्कु खोला छेउछाउको सरकारी तथा सार्वजनिक जगगा हाउजिङ्गको नाममा पास गरिदिने नापी कार्यालयका प्रमुख बुद्धिमान जैसी सहित १७ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले तात्कालिन नापी कार्यालयका प्रमुख जैसी, नापी अधिकृत बालेश्वर यादव, सर्भेक्षक केशव थापामगर, मालपोत कार्यालयका प्रमुख बाबुराम खनाल, नासु ख्याम नारायण पौडेल, नासु दिनेश न्यौपाने र खरिदार आत्माराम लुईटेल विरुद्ध विशेष अदालतमा आईतबार मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले युरो हाउजिङ्ग प्रालि तथा युरो ल्याड डेभलपर्स प्रालिका सञ्चालक गुणीकाजी मानन्धर, योगेश्वर पराजुली, कृष्णराज श्रेष्ठ, टंकबहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर, उज्जल मानन्धर एवं काठमाडौं अस्पतालका सञ्चालक डा. इश्वरलाल आचार्य, र दुर्गेश नन्दिनी भट्टचन विरुद्ध मुद्दा दायर गरेको जानकारी दिएका छन् ।

अख्तियारले उनीहरु विरुद्ध २ करोड २ लाख ३३ हजार ६ सय ७१ रुपैयाँ विगो दावी सहित मुद्दा दायर गरेको हो ।