एनसेल सेयर बिक्री सम्बन्धमा कानुनी र राजस्वको विषयमा जानकारी गराउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । एनसेलको सेयर बिक्री सम्बन्धमा अध्ययन गरी यसले नेपालको राजस्व लगायतका क्षेत्रमा पार्ने प्रभावबारे जानकारी गराउन सम्बन्धित निकायलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनु भएको छ ।

एनसेलको शेयर बिक्रीका सम्बन्धमा प्रकाशित समाचारहरूप्रति प्रधानमन्त्री ‘प्रचण्डले गम्भीर चासो व्यक्त गर्नुहुँदै यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको तथा शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको कुराको शीघ्र अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको उहाँका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले एनसेलको शेयर बिक्री प्रकरणमा कानुनी व्यवस्थाका अतिरिक्त नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई अध्ययन गरी जानकारी गराउन प्रधानमन्त्रीको निर्देशन छ ।
यतिखेर दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर स्वामित्व खरिद(बिक्री विवाद र शङ्काको घेरामा परेको छ ।

मलेसियन कम्पनी ‘आजियटा ग्रुप बर्हाड’ ले गत शुक्रबार एनसेलको ८० प्रतिशत शेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’ लाई बेच्ने निर्णय गरेपछि उक्त व्यावसायिक कारोबार सम्झौताले नेपालमा तरङ्ग पैदा भएको हो ।

राज्यका निकायलाई समेत जानकारी नहुने गरी मुलुक बाहिरबाट शेयर खरिद÷बिक्री भएको भन्दै यो व्यवसायिक कारोबारको कानुनी प्रक्रिया र आर्थिक पादर्शितामाथि प्रश्न उठेका हुन् ।

एनसेलको स्वामित्व खरिद(बिक्री भएको विषयमा सार्वजनिक लेखा समितिले समेत चासो देखाएको छ । समितिले एनसेल खरिद–बिक्रीका विषयमा जानकारी मागसहित आन्तरिक राजस्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको समितिका सचिव एकराम गिरीले पुष्टि गर्नुभयो ।

एनसेलको शेयर खरिद–बिक्रीमा देखिएका प्रश्न र शङ्काबारे सरकारले जवाफ दिनुपर्ने सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल जानकारी दिनुभयो ।