एनएसएलमा आज ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुँदै छ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सुरु हुनेछ ।

ललितपुर आफ्नो चौथो खेल खेल्दैछ भने वीरगञ्जको यो तेस्रो खेल हो । ललितपुर एक जित र दुई बराबरीबाट ५ अंकसहित दोस्रो स्थानमा छ ।

अनन्त तामाङ कप्तान तथा मार्की रहेको ललितपुरलाई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने मौका छ । ३ खेलबाट ७ अंकसहित धनगढी शीर्ष स्थानमा छ ।

नयाँ टोली वीरगञ्ज अझै जितिविहीन छ र पहिलो जितको खोजीमा छ । गोलकिपर दीप कार्की मार्की तथा कप्तान रहेको वीरगञ्जले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको थियो ।

दुवै खेलमा राम्रो प्रदर्शन गरे पनि वीरगञ्ज युनाइटेड धनगढी एफसी र एफसी चितवनसँग समान २/१ ले पराजित भएको थियो ।