पाँच वटा आयोजना अलपत्र पार्ने कम्पनी कालोसूचीमा

काठमाडौ– सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न पाँच वटा निकाय अन्तर्गतका काम अलपत्र पार्ने निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ती कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिनुभयो ।

कालोसूची अन्तर्गत पर्ने कम्पनीहरु, सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्गको काम अलपत्र पार्ने काठमाडौँ पुतली सडकमा कार्यालय रहेको भारत कन्स्ट्रक्सन-मैनाचुली-सिद्धिसाई जेभीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । पुष्पलाल राजमार्ग आयोजना निर्देशनालयको फिदिम कार्यालयअन्तर्गत पर्ने मैनाचुली–सिद्धिसाई जेभीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएका र त्यस्तै झापाको कमल गाउँपालिकाको सिफारिसमा शेर्पा–हेना–सुनामी जेभीलाई एक वर्षको लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

त्यस्तै, धादिङको धुनीबेँसी नगरपालिकाको सिफारिसमा कास्र्याङ कन्स्ट्रक्सन एन्ड सप्लायर्सलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । जुम्लाको चन्दनाथ नगरपालिकाको काम अलपत्र पार्ने इजोन निर्माण सेवा पनि एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।