चिकित्सा शिक्षा ऐन संशोधन हुनु आवश्यकता छ, संशोधन हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले अभियन्ता गोविन्द केसीको अनशनले चिकित्सा ऐन संशोधन नरोकिने जनाएको छ । भरतपुर विमानस्थलमा सोमवार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बस्नेतले देशको आर्थिक समृद्धिका लागि पनि चिकित्सा शिक्षा ऐन संशोधन हुनुपर्ने आवश्यकता भएको बताउनुभयो ।

अहिले चिकित्सा तथा नर्सिङ शिक्षा अध्ययनका लागि लाखौं विद्यार्थी देशबाहिर जानुपर्ने आवश्यकता रोक्न पनि ऐन संशोधन जरुरी रहेको बताउनुभयो । शिक्षाकै लागि अर्बौं रुपियाँ वर्षेनी देशबाहिर गएको छ त्यो रोक्न जरुरी रहेको उहाँले बताउनुभयो ।

नेपालमा रहेका सरकारी अस्पतालहरुको स्तरवृद्धि गराउँदै नर्सिङ र चिकित्साविज्ञान पढाउने नीति सरकारले अवलम्बन गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले देशैभरका सरकारी अस्पतालमा आवश्यक कर्मचारी दरबन्दीको व्यवस्था मिलाउने पनि जनाएको छ ।