बैंकको पहुँचमा नपुगेका नागरिकलाई सेवा पुर्‍याउने ग्लोबल आईएमई बैंकको पहिलो प्राथमिकता

काठमाडौं । बैंकको पहुँच नपुगेका नागरिकहरुलाई सेवा पुर्‍याउने प्रमुख प्राथमिकता ग्लोबल आईएमई बैंकको रहेको ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताउनुभयो ।

बिहीबार (आज) ग्लोबल आईएमई बैंकको १७ औं वार्षिक साधारण सभाको अवसरमा बोल्नुहुँदै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले बैंकको ७७ जिल्लाहरुमा शाखा विस्तार भएको भन्दै बैंकको पहुँच नपुगेको ग्रामीण क्षेत्रमा बैंकको पहुँच पुर्‍याउन प्रमुख प्राथमिकता राखेर आगामी दिनमा काम गर्ने बताउनुभयो ।

अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०७९/०८० मा ९ अर्ब २६ करोड ५५ लाख मुनाफा गरेको बताउनुभयो । कुल मुनाफामा सरकारलाई तिरेको करपछिको मुनाफा भने बैंकले ६ अर्ब ६९ करोड ४४ लाख हासिल गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले बैंकले मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव गरिएको बताउनुभयो । आर्थिक वर्ष २०७९/०८० को नाफाबाट १ प्रतिशत बानेस शेयर वितरण प्रश्चात बैंकको चुक्तापुँजी ३६ अर्ब १२ करोड ८७ लाख पुग्ने उहाँले उल्लेख गर्नुभयो ।

गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप चार खर्ब ६९ अर्ब र कर्जा तीन खर्ब ७४ अर्ब रहेको ढकालले दाबी गर्नुभयो । उहाँले गत आर्थिक वर्षमा बैंकको ब्याजदर आम्दानी ६६ प्रतिशतले वृद्धि भएको जानकारी दिनुभयो । उहाँले बैंकले ३५५ वटा शाखा, राजश्व शाखा ६५ लगायत अन्य सबै गरी एक हजार ७२ वटा आउटलेटमार्फत सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा बैंकको निक्षेप चार खर्ब ५६ अर्ब, कर्जा तीन खर्ब ७५ अर्ब पुगेको उल्लेख गर्नुभयो ।

अध्यक्ष ढकालले बैंकले पहिलो त्रैमासमा एक अर्ब २२ करोड बढी मुनाफा कमाएको बताउनु भयो । उहाँले कोरियामा बैंकको शाखा खोल्न प्रयास जारी रहेको जानकारी दिनुभयो ।