बैंक तथा वित्तीय संस्थामा ऋणको ब्याजदर घटाउन माग

काठमाडौं । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले बैंक तथा वित्तीय संस्थामा ऋणको ब्याजदर घटाउन माग गरेको छ । सङ्घले लगानी योग्य पुँजीको स्रोत पर्याप्त हुँदा पनि कर्जाको विस्तार हुन नसक्नुमा ऋणको ब्याजदरलाई कारक मान्दै माग र आपूर्तिको सिद्धान्तअनुसार ब्याजदर कायम हुनुपर्नेमा जोड दिएको छ ।

सङ्घको टोलीले बिहीबार नेपाल राष्ट्र बैंक भैरहवा शाखामार्फत ऋणको ब्याजदर घटाउन माग गरेको हो । टोलीले मुलुकको अर्थतन्त्रको सुदृढीकरण र उद्योगी व्यवसायीका व्यावसायिक समस्या सुधारका लागि सुझावसमेत दिएको छ । सङ्घले नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सत्यन्द्रराज सुवेदीमार्फत नेपाल राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ ।

सङ्घका अध्यक्ष हरिप्रसाद अर्याल नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्रमा बैंक तथा वित्तीय संस्थाले बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोत पर्याप्त हुँदा पनि कर्जा विस्तार हुन नसक्नु, कर्जाको दरमा उल्लेख्य मात्रामा कमी आउन नसक्नु तथा खराब कर्जाको मात्रामा उल्लेख्यरुपमा वृद्धि हुनुले पनि समस्या कायम रहेको उल्लेख छ ।

“उद्योग व्यवसायको क्षमता प्रयोग निरन्तररुपमा घटिरहेको र रोजगारी तथा आयमा कमी आई उपभोग्य वस्तुको मागमा कमी आएको छ”, सङ्घका अध्यक्ष अर्यालले भन्नुभयो । व्यवसाय धराशायी भएको सन्र्दभमा व्यवसायीले ऋणको ब्याज तथा सावाँ भुक्तान गर्न नसकिरहेको अवस्थामा ऋणको पुनःतालिकीकरण गर्ने र हर्जाना मिनाहा गर्नका लागि प्रबन्ध मिलाउन आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।

सो अवसरमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सुवेदीले सुधारका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस