सरकारी सञ्चार माध्यमले सर्वसाधारणको आवाज बोल्नुपर्छ : मन्त्री शर्मा

काठमाडौं । प्रिन्टेड मिडियाको भविष्य अझै सुन्दर भएको तर त्यसको सही व्यवस्थापनको खाँचो रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभयो ।

उहाँले सो कुरा गोरखापत्र संस्थानको अङ्ग्रेजी प्रकाशन दि राइजिङ नेपाल दैनिकको ५८ औं वार्षिकोत्सव कार्यक्रममा आज यहाँ सम्बोधन गर्नुहुँदै बताउनुभएको हो ।

सरकारी सञ्चार माध्यमलाई सरकारी मान्छेले मात्र पढ्नेखालको नभइ सबै पक्षका लागि पठनीय बनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
सरकारी सञ्चारमाध्यमप्रति पाठकको हेर्ने दृष्टिकोण अझै सरकारी नै भएको चर्चा गर्नुहुँदै उहाँले सरकारी सञ्चार माध्यमलाई प्रतिस्पर्धी र समयअनुसार सबल बनाउन अनिवार्य रहेको जानकारी दिनुभयो । धेरैभन्दा धेरै जनताको आवाज बुलन्द गर्ने, जनताको चेतना परिवर्तन गर्ने, राज्यबाट पछाडि पारिएका समुदाय र वर्गको आवाज बोल्ने काम सरकारी सञ्चार माध्यमले बोल्न सक्नुपर्छ मन्त्री शर्माले भन्नुभयो ।

अहिलेसम्म भएको कामको समीक्षा गर्दै आगामी दिनमा गोरखापत्र र दि राइजिङ नेपालका सामग्रीलाई विशेष ध्यान दिएर अगाडि बढ्नका लागि सरकार र मन्त्रालयबाट गर्नुपर्ने आवश्यक सहयोग गर्न सरकार तयार रहेको मन्त्री शर्माले बताउनुभयो ।