सुदन किराँतीको राजीनामा माग्दै पशुपतिमा आन्दोलन

काठमाडौँ । सत्तामा पुगेका मन्त्रीहरुले जथाभावी बोल्दा विवादमा आउने गरेकै कारण कतिपयले पद नै गुमाउनु परेको अवस्था छ । जानेर होस् वा अन्जानमा हुने यस्ता घटनाले नेपालका मन्त्रीहरु पटक पटक विवादित हुने गरेका छन् । अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पनि अनावश्यक फन्दामा परेका छन् । एक सार्वजनिक कार्यक्रमा उनले दिएको अभिव्यक्तिका कारण अहिले उनी विवादमा तानिएका हुन् ।

विगतमा उनले गरेको कामबाट निकै चर्चामा आएका मन्त्री किराँतीले बुधबार दिएको अभिव्यक्तिले धार्मिक अराजकता फैलाउन लागेको भन्दै सामाजिक सञ्जालमा उनको निकै आलोचना भएको मात्र छैन पशुपतिनाथ परिसर पुगेर केही धार्मिक संगठनहरुले उनको राजीनामा नै मागेका छन् ।

उनले बुधबार क्रिश्चियन धर्मलाई स्वीकार नगर्ने सबै देशद्रोही भएको आरोप लगाउँदै क्रिश्चियन धर्म नस्वीकार्नेहरुलाई जेलमा राख्नुपर्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर अहिले मन्त्री किराँतीको विरोध भइरहेको हो । मन्त्री किराँतीको अभिव्यक्तिलाई लिएर उनकै पार्टीभित्र समेत उनको आलोचना हुन थालेको छ ।