नेवार समुदायमा आज ‘यःमरी पुन्हि’ मनाइँदै

काठमाडौं । नेपालभाषी समुदाय कला र संस्कृति तथा संस्कारले अत्यन्त धनी र समृद्ध छ। बार्‍है महिना मनाइने फरक–फरक चाड, पर्व, तिथिमितिले पनि नेपालभाषी समुदाय संस्कृति र संस्कारमा अत्यन्त धनी रहेको पुष्टि हुन्छ।

प्रत्येक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने गरिन्छ। सोहीअनुसार फरक–फरक खानेकुराका परिकार बनाएर खाने प्रचलन रहेको छ, नेपालभाषी समुदायमा।

यस्तै प्रचलनमध्ये मंसिर पूर्णिमा महत्वपूर्ण छ। यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ। तर नेपालभाषी समुदायमा यस दिन योमरी चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले पकाइएको रोट० पकाएर खाने भएकाले अरु पूर्णिमामध्ये यो महत्वपूर्ण मानिन्छ।

यस पूर्णिमालाई नेपालभाषामा थिल्ला पुन्ही पनि भनिन्छ। यस दिन चामलको पीठो र चाकु तथा तिलको मिश्रण राखिएको विशेष प्रकारको योमरी खाने भएकोले यसलाई योमरी पुन्ही ‘यःमरी पुन्हि’ पनि भनिन्छ। हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामले मनाइँदैछ । नेपाल संवत्को दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्हि’ पनि भनिन्छ ।

देशभरका नेपालभाषी योमरी बनाएर देवदेवीलाई चढाइसकेपछि प्रसादको रुपमा आफूहरु पनि खान्छन्। तैपनि यो पुन्ही एकदिनमात्र मनाइँदैन। योमरी पुन्हीको भोलिपल्ट नेपालभाषीहरु आफ्ना नातागोता, छोरी, छोरीज्वाइँलाई घर बोलाएर योमरीसहितको भोज खुवाउने गर्छन्।

जुन अरु पुन्हीमा यस प्रकारको भोज खुवाउने गरिँदैन। त्यसैले यस पुन्ही नेपालभाषी समुदायमा अत्यन्त महत्वपूर्ण एवं ठूलो पुन्हीको रुपमा लिइने संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन्।