जुम्ला विमानस्थलबाट कोटा प्रणालीमार्फत हवाई टिकट

जुम्ला । जुम्ला विमानस्थलबाट हुने उडानमार्फत् यात्रा गर्ने यात्रुलाई कोटा प्रणालीमार्फत हवाई टिकट दिइने भएको छ।

विमानस्थलबाट वितरण गरिने हवाई टिकटमा मनपरी भएको गुनासोपछि गत आइतबार बसेको सर्वपक्षीय बैठकले कोटा प्रणाली लागु गर्ने सहमति गरेको हो।

निजी हवाई कम्पनीले मनपरी टिकट बाँडेको, विमानस्थल बाहिर कार्यालय नखोलेर फोनको भरमा आफूअनुकूल मानिसलाई टिकट दिएको जस्ता गुनासा सर्वसाधारणले गर्ने गरेका थिए। लगातार गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठक बोलाएको थियो।

‘फोनबाट टिकट बाँड्ने, मनपरी पैसा लिने, काउन्टर नखोल्ने जस्ता गुनासो आएपछि हामीले यसलाई व्यवस्थित गराउनुपर्छ भनेर छलफल गरेका हौं,’ जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले भने, ‘जुम्लामा चल्ने सबै निजी हवाई कम्पनीले काउन्टर खोल्नुपर्ने, एक दिनअघि यात्रुका हातमा टिकट दिनुपर्ने जस्ता सहमति गरेका छौं।’

उनका अनुसार जुम्लामा नेपाल एयरलाइन्सले मात्र काउन्टर स्थापना गरेको छ। अरु कम्पनीले भने अफ्नो काउन्टर स्थापना गरेका थिएनन्।

बैठकबाट विमानस्थलमा टिकट वितरण प्रक्रिया पारदर्शी हुनुपर्ने, प्रत्येक वायुसेवा कम्पनीले आपसमा सहकार्य गरेर टिकट वितरण सहज बनाउनुपर्ने, हरेक विमान कम्पनीले १० सिट सर्वसाधारणका लागि उपलब्ध गराउनुपर्ने निर्णय बैठकबाट गरिएको प्रजिअ घिमिरेले बताए।

उनका अनुसार अबदेखि प्रत्येक उडानमा बिरामी, अशक्त र सुरक्षाकर्मीका लागि दुई(दुईटा सिट छुट्याउनुपर्नेछ। यस्तै जिल्ला प्रशासनका लागि दुई सिट जहाज उड्ने अन्तिमसम्म छुट्याउनुपर्नेछ भने अत्यावश्यक काम भएका यात्रुलाई प्राथमिकतामा राख्नुपर्ने निर्णय भएको छ।

सर्वपक्षीय बैठकले जुम्लाबाट दिइने हवाई टिकटलाई तीनवटा वर्गमा विभाजन गरेको छ। अत्यावश्यक काम भएकालाई दिइने टिकट को वर्ग ‘ए’, बिरामीका लागि ‘बी’ र सरकारी कर्मचारीका लागि दिइने टिकटका वर्ग ‘सी’ बनाइएको छ।

जुम्लाबाट उडान भर्ने निजी वायुसेवा कम्पनीहरूले पनि सर्वपक्षीय बैठकले गरेको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको प्रजिअ घिमिरेले बताए। नेपाल एअरलाइन्ससँगै निजी कम्पनीहरू सीता, तारा र समिट एअरलाइन्सका जहालले उडान गर्छन्।

‘उनीहरूले कार्यान्वयन गर्छौं भनेर प्रतिबद्धता जनाउनुभएको छ, हामीले पनि अहिले गुनासोमा सुनेका मनपरी रोक्न नियमित अनुगमन गर्छौं,’ प्रजिअ घिमिरेले भने।